ओसाका, जापान । गनेशा प्रोडक्सनको आयोजनामा जुन १, २०२६ मा ओसाकाको चर्चित सांगीतिक स्थल नाम्बा ह्याच (Namba Hatch) मा हुन लागेको नेपाली गायक सुजन चापागाईं को बहुप्रतिक्षित सांगीतिक कार्यक्रम “स्माइल्स म्युजिक टुर २०२६” को सम्पूर्ण तयारी पूरा भएको छ।

कार्यक्रममा सुजन चापागाईं आफ्नो चर्चित ब्याण्ड “The Infinity” सहित मञ्चमा उत्रिनेछन्। “घाम घाम”, “फूलथुंगे रानी”, “बादल बनाइदेऊ”, “गाला पुक्क” लगायतका लोकप्रिय गीतमार्फत नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएका चापागाईंको प्रस्तुति हेर्न जापानभरबाट दर्शकहरू ओसाका आउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमको व्यवस्थापन, प्राविधिक तयारी तथा टिकट बिक्रीलगायतका सम्पूर्ण कुराको तयारी पूरा भइसकेको छ। कार्यक्रमको समय तालिका अनुसार गेट साँझ ५:०० बजे खुल्नेछ। पहिलो चरणको कार्यक्रम साँझ ६:३० बजे सुरु हुनेछ भने दोस्रो चरणको मुख्य सांगीतिक प्रस्तुति साँझ ७:०० बजेदेखि राति ९ :०० बजेसम्म सञ्चालन हुनेछ।

जापानस्थित नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

गनेशा प्रोडक्सनले ओसाका तथा आसपासका क्षेत्रसहित जापानभर रहेका नेपाली संगीतप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई सुजन चापागाईं र “द इन्फिनिटी” को प्रत्यक्ष प्रस्तुतिको आनन्द लिन आग्रह गरेको छ।