हेर्ने खबर/काठमाडौं । समाजमा निःस्वार्थ सेवा, समर्पण र सकारात्मक योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले कार्तिक २१ गत्ते शनिवारका दिन ‘गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ काठमाडौंको नयाँ बानेश्वरमा आयोजित गरेको हो।

गुराँस फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवा, शिक्षा, व्यवसाय, कला, बुद्धिजीवी तथा सञ्चार क्षेत्रमार्फत समाजमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व उपसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि व्यक्तिगत स्वार्थ तथा अहंकारभन्दा सामूहिक जिम्मेवारी र प्रणालीगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले ‘इगोको राजनीति नगरौँ, देशलाई सिस्टममा लैजाऔँ’ भन्ने धारणा राख्दै राज्यका हरेक निकायमा सबै जातजाति तथा समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिइन्। विविधतायुक्त नेपाली समाजको वास्तविक प्रतिबिम्ब राज्य सञ्चालनका सबै तहमा देखिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका सभापति एवं गुराँस फाउन्डेसनका अध्यक्ष पाल्देन लामाले विगत दुई दशकदेखि दुःखी, असहाय तथा विभिन्न समस्यामा परेका नागरिकहरूको सेवामा आफूलाई समर्पित गर्दै आएका छन्। मानवीय संवेदना, परोपकार र सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै आएका लामाको नेतृत्वमा फाउन्डेसनले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

उनको अगुवाइमा अघि बढेको सामाजिक अभियानले सम्मान केवल व्यक्तिको उपलब्धिको कदर मात्र नभई समाजमा सेवाभाव, सहयोग र मानवीयताको संस्कार विकास गर्ने माध्यमसमेत भएको सन्देश दिएको छ।

कार्यक्रममा समाजसेवी, शिक्षक, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। समाजमा सकारात्मक परिवर्तनका लागि आफ्नो क्षेत्रबाट निरन्तर योगदान पुर्‍याउने व्यक्तिहरूको पहिचान र कदर गर्दै उनीहरूलाई थप सामाजिक जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

गुराँस फाउन्डेसनका अध्यक्ष पाल्देन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रुपा घिसिङले गरेकी थिइन् भने मिलन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा रुद्रसिंह तामाङ, इन्द्रराज भट्टराई, नेत्रप्रसाद गौतम, कमानसिंह मोक्तान, टीका माल्बुके, देवकुमार मगर, लालबहादुर मगर, राम मोक्तान, आशिष नगरकोटी, दानबहादुर रानामगर, खड्गबहादुर श्रेष्ठ, लालबहादुर थापामगरलगायत विभिन्न क्षेत्रका शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।

समाजमा सकारात्मक सोच, मानवीय सहयोग र परोपकारी भावनाको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

सम्मान केवल नाम र प्रतिष्ठाका लागि होइन, समाजका लागि गरिएका असल कर्मको पहिचान पनि हो।
अरूको दुःखमा साथ दिने हात, समस्यामा परेकालाई सहयोग गर्ने मन र समाज परिवर्तनका लागि गरिने साना प्रयास नै सभ्य तथा समुन्नत समाज निर्माणका आधार हुन्। ‘गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ ले यही मानवीय सन्देशलाई पुनः उजागर गरेको छ।