हेर्ने खबर/काठमाडौं । विश्वव्यापी कल्याणकारी संस्था WeLoveU International (वीलभयू) फाउन्डेसनले काठमाडौंको नागार्जुन नगरपालिका–४, सीतापाइलामा बृहत् ‘विश्वव्यापी स्वच्छ विश्व अभियान’ सम्पन्न गरेको छ। वातावरण संरक्षण, सरसफाइप्रति जनचेतना अभिवृद्धि तथा स्वच्छ र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले आयोजित अभियानमा ४३० भन्दा बढी सदस्य, उनीहरूका परिवार, स्थानीयवासी तथा अन्य स्वयंसेवकको उत्साहजनक सहभागिता रहेको थियो।

आमोदकुमार भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। त्यसैगरी नागार्जुन नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीराम शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रहरी वृत्त स्वयम्भू, काठमाडौंका प्रहरी निरीक्षक सुविन श्रेष्ठसहित प्रहरी टोली, स्थानीयवासी तथा WeLoveU फाउन्डेसनका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि नागार्जुन नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी आफु विश्वव्यापी कल्याणकारी संस्था WeLoveU International (वीलभयू) फाउन्डेसनसँग लामो समयदेखि जानकार नभएपनि उक्त संस्थाले देशमा पुर्याएका विभिन्न स्वयम् सेवा साथै बिभिन्न कार्यक्रमबारे जानकारी पाउदा अत्यन्तै खुशी हुदै उक्त कार्यक्रममा उपस्थित भएको साथै आफु जिम्मेवारी पदमा भए पनि नभए पनि उक्त संस्थासँग सहकार्य गर्ने प्रतिवद्दता जाहेर गर्नुका साथै लगातार प्रसंसा गर्नु भएको थियो।

नोभेम्बर २२ तारिख आयोजित अभियानमा सदस्य, परिवार तथा परिचितसहित करिब ४३० भन्दा बढि स्वयंसेवक सहभागी भएका थिए। उनीहरूले सीतापाइला चोकदेखि मनमती नदी पुलसम्मको करिब दुई किलोमिटर सडक तथा नदी किनार क्षेत्रमा सरसफाइ गरेका थिए।

नागरिक तथा सवारीसाधनको बाक्लो आवागमन हुने सडक क्षेत्र र नदी किनारमा छरिएर रहेका घरायसी फोहोर, प्लास्टिक तथा अन्य फोहोर संकलन गरिएको थियो। अभियानका क्रममा कागज, प्लास्टिकलगायत गरी करिब १५ टन फोहोर संकलन गरिएको आयोजकले जनाएको छ।

विश्वभर स्वच्छ र रमाइलो जीवनयापनको वातावरण निर्माण गर्ने उद्देश्यले WeLoveU ले नोभेम्बर १९ देखि नेपालका बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेसलगायत विभिन्न १२ क्षेत्रमा ‘विश्वव्यापी स्वच्छ विश्व अभियान’ सञ्चालन गरिरहेको छ। संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय स्वयंसेवक वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा स्थानीय समुदायसँगको सहकार्यमा वातावरण संरक्षण र नागरिक सहभागिता बढाउने लक्ष्यसहित अभियान अघि बढाइएको संस्थाले जनाएको छ।

‘स्वच्छ वातावरण मानव कल्याणको जग हो’ भन्ने मान्यतासहित सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको स्वच्छ विश्व अभियान नागरिक सहभागितामा आधारित वातावरणीय कल्याणकारी अभियान हो। यसअन्तर्गत विश्वका विभिन्न देशका सहरी क्षेत्र, पार्क, पहाड, नदी तथा समुद्री किनारमा सरसफाइका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस वर्ष सेप्टेम्बरसम्म कोरियासहित ८४ देशमा ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिले यस अभियानमा सहभागिता जनाइसकेका छन्।

संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभाग (DGC) को साझेदार संस्थासमेत रहेको WeLoveU ले ‘सारा संसारलाई आमाको माया’ भन्ने नाराका साथ वातावरण संरक्षणसँगै आपत्कालीन राहत, स्वास्थ्य सेवा, शैक्षिक सहयोग तथा सामाजिक कल्याणका क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

संस्थाले सञ्चालन गर्दै आएको ‘एक-कदम रक्तदान अभियान’मार्फत स्थानीय समुदायमा देखिने रगतको अभाव न्यूनीकरण तथा रक्तदान संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको छ। यस वर्ष मात्रै उक्त अभियान देशका १७ क्षेत्रमा सञ्चालन गरिएको थियो, जसमा ३ हजार ४०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।

त्यसैगरी बालबालिका तथा किशोरकिशोरीको शैक्षिक वातावरण सुधारका लागि पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको मध्यपुर ठिमीलगायतका क्षेत्रमा विद्यालयहरूलाई शैक्षिक सामग्री, टेबल, झोला तथा पंखा उपलब्ध गराउनुका साथै विद्यालयका संरचना सुधार, विद्यालय चिन्ह जडान तथा बार मर्मतजस्ता कामसमेत गर्दै आएको छ।

WeLoveU ले हालसम्म १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको छ। ती गतिविधिमा करिब १ करोड ७ लाख सदस्य तथा सर्वसाधारण सहभागी भएको संस्थाले जनाएको छ। संस्थाले वातावरण संरक्षण, मानवीय सेवा र सामाजिक कल्याणका माध्यमबाट संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा समेत योगदान पुर्‍याउँदै आएको छ।

मानवीय सेवा र कल्याणकारी गतिविधिमा पुर्‍याएको योगदानको कदरस्वरूप संस्थाले अमेरिकी राष्ट्रपति स्वयंसेवा सेवा स्वर्ण पदक, कोरिया गणतन्त्रको ग्रीन अफ मेरिट, कम्बोडियाको राजकीय सम्मान तथा इक्वेडरको राष्ट्रिय कांग्रेसको सम्मानलगायत १ हजार १०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको छ।

नागार्जुनमा सम्पन्न यस अभियानले स्थानीयस्तरमा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै सरसफाइलाई सामूहिक अभियानका रूपमा अघि बढाउन महत्वपूर्ण सन्देश दिएको छ।