हेर्ने खबर/काठमाण्डौ अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनको आयोजनामा ललितपुरको इमाडोलस्थित मनोहरा–हनुमन्ते करिडोरमा हिजो बिहीबार बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षको अवसरमा सञ्चालन गरिएको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा करिब २८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा फाउन्डेसनका सदस्य, श्री गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी र सुरक्षाकर्मी सहभागी भएका थिए। अभियानको पहिलो चरणमा विद्यार्थीहरूलाई वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो भने दोस्रो चरणमा विद्यालय परिसरदेखि मनोहरा–हनुमन्ते करिडोरसम्म सरसफाइ गरिएको थियो।

सरसफाइका क्रममा घरायसी फोहोर, कागज तथा प्लास्टिकजन्य सामग्री गरी करिब १०० बोरा अर्थात् १ हजार ५०० किलोग्राम फोहोर संकलन गरिएको थियो। संकलित फोहोर व्यवस्थापनमा सिर्जनसिप सेवा प्रा.लि.ले सहयोग गरेको थियो।

कार्यक्रममा वी लभ यु फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले पृथ्वी सम्पूर्ण मानवजातिको साझा घर भएकाले यसको संरक्षण र सरसफाइ सबैको दायित्व भएको बताउनुभयो। महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले विद्यार्थीको सहभागितामा सञ्चालन गरिएको अभियानले बालबालिकामा सानैदेखि वातावरण संरक्षणसम्बन्धी चेतना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाको नेतृत्वमा नोभेम्बर १९ देखि देशका पाँच प्रदेशका १२ स्थानमा क्लिन वर्ल्ड अभियान सञ्चालन भइरहेको छ। सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको यस अभियानमा हालसम्म नेपालसहित ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिस सहभागी भइसकेका छन्।

‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराका साथ अघि बढिरहेको वी लभ यु फाउन्डेसनले वातावरण संरक्षणसँगै आपत्कालीन राहत, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको छ। संस्थाले विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको जनाएको छ।