काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा आगामी २०८३ मङ्सिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडर (सब–स्टेसन) अन्तर्गतका क्षेत्रहरूमा बिहान १०ः ३० बजेदेखि दिउँसो ४ः ०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणको सूचनाअनुसार मङ्सिर ३, ६ र ८ गते बलम्बु र थानकोट फिडर अन्तर्गतको बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । त्यस्तै, मङ्सिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडर अन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मङ्सिर ५ गते कालिमाटी र बाफल फिडर अन्तर्गत स्युचाटार पुल क्षेत्रमा बत्ती जानेछ ।
यसैगरी मङ्सिर ७ गते कोटेश्वर–इमाडोल फिडरको ईडीटीआर ९ र ईडीटीआर ९ए, मङ्सिर ९ गते कोटेश्वर फिडरको ईडीटीआर २६ए र ईडीटीआर ४ तथा मङ्सिर १२ गते कोटेश्वर फिडरकै ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ ।
त्यसैगरी, धोबीखोला–बत्तीसपुतली फिडर अन्तर्गत नै शिफल ग्राउन्डदेखि कालोपुलसम्मको क्षेत्रमा मङ्सिर १० र १४ गते विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
यता, बलम्बु–थानकोट फिडर अन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म मङ्सिर ११ गते र थानकोट फिडर अन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म मङ्सिर १३ गते विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
साथै, मौसम प्रतिकूल रहेमा उल्लेखित समय तालिका रद्द हुने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ । हामीले यो समाचार राटोपटिबाट साभार गरेका हौ।