काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ-पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि पुनः सञ्चालनमा आएको छ।

गएको असोज ११ गते आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका दर्जनौँ जिल्लाको सिधा यातायात ठप्प भएको थियो। सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कामदारहरूले चौबीसै घण्टा खटिएर पहुँचमार्ग निर्माण गरेपछि सोमबार बिहान १० बजेदेखि पुलमा यातायात सञ्चालन भएको हो।

दसैँको मुखमा मुख्य पुल नै बन्द हुँदा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको थियो भने ढुवानी रोकिँदा बागलुङ बजारमा उपभोग्य सामग्रीको महँगी बढेको थियो। साथै, लामो समय यातायात अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार–व्यवसाय र पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो।

पुल अवरुद्ध भएकै कारण यस वर्ष घटस्थापनाका दिन प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको उपस्थिति निकै पातलो रह्यो। विगतका वर्षहरूमा घटस्थापनाको दिन मात्रै १० हजारभन्दा बढी भक्तजन आउने गरेकोमा यस वर्ष दुई हजार पुग्न पनि मुस्किल परेको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले बताए। पुल नहुँदा बाहिरी जिल्लाबाट पञ्चबलि चढाउन आउने भक्तजन तथा पञ्चकोट र ढोरपाटन जाने पर्यटकहरू समेत आउन सकेका थिएनन्। त्यस्तै, कागबेनी र मुक्तिनाथमा सोह्रश्राद्धका लागि जाने तीर्थयात्रीहरू नआउँदा पनि यस क्षेत्रको चहलपहल घटेको थियो।

मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको संगमस्थल हो। दुई प्रमुख राजमार्गलाई जोड्ने यो रणनीतिक पुल पुनः सञ्चालनमा आएसँगै स्थानीय जनजीवन सहज बन्ने र रोकिएका सेवाहरू सुचारु हुने विश्वास गरिएको छ।