कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ। त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द गरिएको सीआईबीका एआईजी दीपक थापाले बताएका छन।
सो सामग्री अपडेट सेरोफेरो र मेडिकल व्यवसायी दुर्गा प्रसाईको फेसवुक एकाउन्टबाट पनि सार्वजनिक गरिएको थियो। सामग्री प्रकाशन गर्ने ३ वटा युट्युब दर्ता बिना नै सञ्चालन गरेको भेटिएको छ भने उक्त युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ।
प्रधानमन्त्रीले कम्बोडियामा करोडौं लगानी गरेको भन्दै कागजात सार्वजनिक गरेका थिए। तर, प्रारम्भिक अनुसन्धानबाट ती कागजात फर्जी रहेको देखिएको एआईजी थापाले जानकारी दिए। प्रसाईंलाई पक्राउ गरेर प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको पनि बताए।