२८ चैत। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आफू माओवादी केन्द्रमा फर्किने कुनै सम्भावना पनि नरहेको बताएका छन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्तरियास्थित आफ्नो निजी निवासमा भेट गरेको प्रसंगमा बोल्दै भट्टले पुनः माओवादीमा फर्किने सम्भावना नरहेको बताएका हुन् ।

मंगलबार अत्तरियामा एमालेले आयोजना गरेको मिसन ग्रासरुट अभियानको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा भट्टले प्रधानमन्त्रीले घरमै आउँछु भनेपछि पारिवारिक भेटघाट भएको बताएका छन।

‘प्रधानमन्त्री प्रचण्डले घरमा भेटन आउँछु भन्नुभयो मैले हुन्छ भनेँ, त्यो पारिवारिक भेटघाटमात्रै हो। हामीबीच ४० वर्षदेखिको सम्बन्ध भएकाले यो कुरालाई सामान्य रूपमा लिनुपर्दछ,’ भट्टले भने, ‘उहाँले शान्ति प्रक्रियाका काम टुंग्याउन हाम्रो पार्टी अध्यक्षसँग कुरा गर्नुपर्‍यो भन्नुभयो तर मैले तपाईं नै अध्यक्षसँग कुरा गर्नुस् भनेको छु। बाहिर आए जस्तो फेरि म माओवादीमा फर्किने कुनै सम्भावना छैन।’

भट्टले प्रचण्डलाई वामपन्थी एकताका लागि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्न सुझाव दिएको बताए ।

‘मैले उहाँ (प्रचण्ड) लाई बामपन्थी एकताका लागि हाम्रो पार्टीका अध्यक्ष कमरेडसँग कुरा गर्नुस् भनेको छु। विगतमा कहाँबाट कसरी सम्बन्ध बिग्रेको हो? त्यो बारेमा छलफल गर्न पनि आग्रह गरेको छु’ भट्टले भने।

आफू कम्युनिष्ट पार्टीबीच एकताको पक्षमा रहेको उनको भनाइ छ। कम्युनिष्ट पार्टीबीच एकता नभए बामपन्थी शक्ति कमजोर हुने भट्टले बताए।

आईतवार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन गएका प्रचण्ड धनगढी विमानस्थलबाट अत्तरियास्थित भट्टको निजी निवासमा पुगेर भेटघाट गरेका थिए।