विवेकशील साझाका नेता रवीन्द्र मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहलाई १५ प्रश्नसहितको जवाफ फर्काएका छन् । मिश्रबारे प्रकाशमानले सार्वजनिक टिप्पणी गरेपछि मिश्रले पनि ‘मलाई व्यङ्ग गर्ने ‘वरिष्ठ नेता’लाई १५ प्रश्न’ भन्दै बुँदागतरुपमा जवाफ फर्काएका हुन् ।

‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो’ सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन् ।

उनले प्रकाशमानलाई पहिलो प्रश्नका रुपमा ‘ पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन ?’ मिश्रले प्रकाशमानले संसदमा खेलेको भूमिका, सम्पदा संरक्षणका लागि खेलेको भूमिकालगायतका विषमा प्रश्न गरेका छन् ।

मिश्रले प्रकाशमानले १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर केही गर्न नसकेको जिकिर गरेका छन् । ‘मौका पाए कोही नबस्ने देश बनाउनु भयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो’, मिश्रले भनेका छन्, ‘अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?’​