चार तथा दुई पाङ्ग्रे हलुका गाडीलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौँ। तर हिजाे कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको ।

जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएकाे जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन ।

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थालेका थिए। विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकआपसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भन्नुभयो, ‘विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।’ त्यो जहाज थियो तारा एयरलाइन्सको ।

जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीईको जहाजलाई यात्रुले धकेलेर सुरक्षित ठाउँमा राखेपछि अर्को जहाज अवतरण भएको थियो ।

तारा एयरलाइन्सको जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल भएको छ । कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि धक्का लगाएर जहाजलाई साइड लगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो ।

धावनमार्गबाट जहाज हटाएपछि आफू हिजै अर्को जहाज चढेर धनगढी आइपुगिसकेको उहाँले बताउनुभयो । जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको खड्काको भनाइ छ । तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो ।

एयरलाइन्सले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ। उज्यालोमा खबर छ ।