हेर्ने खबर/काठमाण्डौ रोल्पा सिर्प माईती भएकी ५७ वर्षीया पुना सापकोटाले छोराको आशमा १२ सन्तानलाई जन्माउनुभएको छ । बाह्र वर्ष हुँदा प्युठान नौबहिनी गाउँपालिका -७ बांसकोटका ५८ वर्षीय सुमन्त सापकोटासँग ४४ वर्षअघि उहाँको भागीविवाह भएको थियो ।
सापकोटाको जोडीलाई विवाहपछिको पहिलो सन्तान छोरा जन्मियोस भन्ने चाहाना थियो । तर अहिलेसम्म आई पुग्दा १२ वटा सबै सन्तान छोरी छन् । पुना सापकोटाले भन्नुभयो, “विहेको दोस्रो बर्ष नबित्दै बच्चा जन्मियो, त्यसपछी पनि सबै छोरी नै जन्मिए ।”
दोस्रो सन्तान छोरा जन्मिने आश घरमा ठुलो थियो, तर दोस्रो सन्तान पनि छोरीनै जन्मिएपछि मनमा त्यति खुसी छाएन। गाउँघरकाले पनि छोरा नजन्माएको भन्दै कुरा सुनाउन थाले। उहाँले भन्नुभयो,’त्यसैले छोराको आशै आशमा बच्चा पाइरहेँ”।
हिन्दु संस्कारमा छोरी हुदा बंस कायम रहदैन भन्ने डरले पनि छोराको आशमा आफूले १२ वटा सन्तान जन्माएको पुनाका श्रीमान सुमन्त सापकोटाले बताउनुभयो। सुमन्तका अनुसार १२ छोरी मध्ये ८ वटा छोरीले विवाह गरि सके । चार वटि छोरी स्कुल पढ्दैछन।
अहिले पुना र उहाका श्रीमान छोरी भएकोमा खुशी छन् । पहिले छोरी भएकोमा हेलाहोचो गर्नेलाई पनि सापकोटाका छोरीहरुको पौरख देखेर जवाफ मिलेको छ ।
हरेक हिसाबले छोरीहरुबाट छोरा सरह साथ पाईरहेको सापकोटाले बताउनुभयो। उहाँले भन्नुभयो,’छोरीहरु इश्वरका बरदान सावित भएका छन,धेरै खुसी छु।’
भिडियो हेर्नुस्