देवी काफ्ले/काठमाण्डौ महिला घरपरिवार भित्रैबाट यौन हिंसामा परेका घटना धमाधम बाहिरिंदै छन्। हालसालै चितवनबाट एउटा यस्तो घटना बाहिरियो कि सुन्दा नै आङ जिरिङ्ग हुन्छ। ७५ बर्षको ससुराले बुहारीमाथि यौनहिंसा गरेका कारण बुहारीले आत्महत्या गरेको समाचारले सन्जाल तात्यो। अदालतले दोषि भनिएकाहरुलाई धरौटीमा रिहा गरेको समाचार छ। दोषि उपर सजाय होला आशा गरौं।

घरेलु हिंसामा अझै पनि कति छोरीले ज्यान गुमाउनु पर्ने हो? किन बुहारीहरु जलिरहेका छन्? किन बुहारीहरु आत्महत्या गर्न बिवस छन्? हामीसंग जवाफ छ ???

जंगलमा डुलिहिड्ने नेपालका लोपोन्मुख राउटेहरु, सम्पत्ति, हकअधिकार, लोभलालच बिना आफ्नै संसारमा रमेका थिए।जबसम्म उनिहरु जंगलमा थिए तबसम्म उनिहरु सुरक्षित थिए तर केही समय यता सरकारले उनिहरुलाई भत्तासत्ताको ब्यावस्थापन गरेर जब मान्छेको सम्पर्कमा आए आज तिनै राउटेका छोरीमाथि दुर्ब्यावहार भयो। दुर्ब्यावहार पनि यति साह्रो भयो कि देख्नसुन्न,सहन सकिने नै छैन।अपराध यति धेरै गरेको छ यसका लागि कस्तो सजायं हुने हो?अन्योल छ। आफ्नै समुदायसंग जंगलमै रमाएका ती सोझा नानीहरुलाई फकाईफुल्याई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराई लट्ठ्याएर उनिहरुको अस्मिता लुटेर भिडियो बनाई सामाजिक सन्जाल पोतिदिए।
यस्ता अपराध गर्न कसरी हौसिए? आखिर यति निकृष्ट अपराध गर्ने अपराधीलाई सजायं हुन्छ के?
यहाँ अपराधीहरुले सम्झना र गाजलुमाथि अपराध धेरै गरेका छन्। सोझा, सधैं जंगलमा केवल आफ्नै समुदायमा मात्रै सिमित भएर रमाएका नानीहरुलाई ललाईफकाई होटल पुर्याउनु। अर्को अपराध मादक पदार्थको सेवन गराउनु। अर्को अपराध उनिहरुमाथि यौनहिंसा यानी कि बलात्कार । त्यसपछि झन् ठूलो कसुर भिडियो बनाएर सामाजिक सन्जालमा सार्बजनिक गर्नु।यति धेरै अपराध गर्ने अपराधीलाई सजायं के हुन सक्ला?
आज मानव र जंगली जनावरको तुलना गर्दा यी मानव भन्दा जंगली जनावर नै सयौं गुणा उच्च लाग्यो।सदियौं देखि जंगलमा खुलेवाम स्वतन्त्र पक्षी जस्तै डुलीघुमी हिंडेका युवतीहरु आज मानव समुदायमा आएर चिथोरीय। उनीहरुलाई खेलौना बनाइयो।यति निचतामा जान जंगली जनावर कहाँ सक्छ र?
मानव सभ्यतामा रहेका मानिस भनाउंदाले आज पनि स्त्रीलाई मानव हुन दिएनन्। केही यस्ता पुरुषहरु आज पनि यो समाजमा आफ्नो अधिनता जमाएर बसेका छन् जसले स्त्रीलाई केवल आफ्नो भोग्य वस्तु ठान्दछ। सोको परिणाम प्रष्ट गरे केही नरपिचाशहरुले।
यति घृणित र निन्दनिय घटना घटेको छ अब यश घटनालाइ राज्यले कसरी हेर्छ हेर्न बांकी छ। देशमा फांसीको कानून त छैन तर फांसीको सजायं पनि कम छ यो अपराधको लागि। सन २०१२ डिसम्बर १२ तारिकमा भारतको ग्रेटर नोयडामा बसमा निर्भयाको सामुहिक बलात्कार पछि हत्या भयो।जहाँ अपराधी छ जना थिए। जुन सबैभन्दा क्रुरता देखाउने अपराधी थियो त्यो नाबालग थियो अर्थात् १८ बर्ष पुगेको थियन ,यो घटना पश्चात् सरकारले तुरुन्त बालिग उमेर १६ बर्ष बनायो।त्यसको साढे सात बर्ष पछि अपराधीलाई सजायं फाँसी भयो।त्यो बिचमा निर्भयाका आमाबाबाले निरन्तर लडिरहे अन्तमा सन २०१९ मा चार जना अपराधीलाई फांसीको सजायं भयो। यसैगरी घटनाको प्रकृति हेरेर कहिले सजायं हुन्छ हामी कहाँ?
हुन त फांसीले घटना रोकिने होईन तर घटना घट्नबाट केही न्युनीकरण पक्कै हुनेछ।
यहाँ अपराधीले हदैसम्मको अपराध गर्छ अनि त्यसलाई केही बर्ष जेल र केही धरौटीमा छोडिन्छ । पिडक फेरि पनि अपराध गर्न हौसिन्छ पिडितको जीवन तहसनहस हुन्छ। कमसेकम सजायको डरले भएपनि अपराध गर्नबाट टाढिन्छन् कि?
यसरी घटनाका प्रकृति हेरेर संविधान संशोधन गरेर पनि अपराधीलाई कठोर सजायंको ब्यावस्था गर्नु पर्छ।
यौन हिंसा, बलात्कारजन्य घटनाहरु जब घट्छन् तब यहाँ लैंगिक कुरा आउछन अपराधीका कारण सबै पुरुष मुछिन्छन्।या समग्रमा आउछ । यस्ता घटनामा पिडित पुरुष पनि बराबर छन्। उनिहरु पनि रोएका छन्। त्यो पीडा सहन पुरुषलाई पनि हम्मे परेको छ। जुन पुरुषको छोरी, बैनी, आमा बलात्कारमा परेकी छन् त्यो पुरुष पिडामा हुदैन त? त्यसैले आउनुहोस् अब पिडितहरुका न्यायका लागि महिलाले मात्रै हैन पुरुषले पनि आवाज उठाउनुस्। अपराधको न्युनिकरण गर्न तपाईं हामी एकसाथ हुनुपर्छ। हामी सबैको आवाज बुलन्द भयो भने अपराधीलाई कठोर सजाय दिलाउन सकिने छ नत्र भोलि कसका छोरीको पालो अाउंछ थाहा छैन । रोएर मात्र समय खेर नफालौं अपराधको बिरुद्ध आवाज उठाउं।