नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको स्वास्थ्यलाई लिएर देश–विदेशबाट नेपाली समुदायले असाधारण सद्भाव देखाएको छ । विगत केही दिनदेखि सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै हरेकदिन सयौँ ‘पोस्ट’ आइरहेका छन् । कलाकार, राजनीतिज्ञ, साहित्यकारदेखि धेरैले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उपचारका लागि सहयोग गर्नेहरूको पनि कमी छैन । स्वतस्फुर्त रूपमा थापाको स्वास्थ्य उपचारका लागि देश–विदेशबाट आर्थिक सहयोग पनि जुटेको छ । अत्याधुनिक प्रविधिबाट उपचार गराउनुपर्ने देखिएपछि परिवारको सहमतिमा आर्थिक सहयोग जुटाउने अभियान चलाइएको थियो ।

युवापुस्ता उनीबाट बढी प्रभावित देखिन्छन् । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए । जसले समाजका बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेको थियो । त्यही कुरा अहिले उनको स्वास्थ्यलाई लिएर चासोमा व्यक्त भएको छ ।

उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रे । समाजका बेथितिमाथि प्रश्न गरे । सत्तालाई हरेक दिन खबरदारी गरे । तर, शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर, सडकछेउमा उभिएर । आन्दोलनमा उनी ढुंगामुढा गर्न तम्सिएनन् । कुटपिट गर्न अघि सरेनन् । सडक बन्द गर्न गएनन् । बन्दको विरोध गर्न ०६८ सालतिर उनले ‘नेपाल खुला छ’ भन्ने अभियान चलाए । पछिसम्म पनि उनी बन्दको दिनमा ‘नेपाल खुला छ’ भन्दै सडकमा उत्रिएको देखिन्थ्यो । उनको यही शैलीले हो, अहिले स्वास्थ्यलाभको देशविदेशबाट भएको कामना ।

पहिलो संविधानसभा विघटन हुनुपूर्व उनले धेरैको ध्यान खिचे । विभिन्न माग राख्दै सडकमा आन्दोलन भइरहेको समयमा उनलाई आन्दोलनकारीकै रूपमा मानिसले फरक ढंगले देख्ने मौका पाए । त्यतिवेला उनी र उनका साथीभाइ सडककिनारामा उभिएर सभासद्हरूसँग संविधान माग्थे । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ !’ जस्ता नारा लेखिएको प्लेकार्ड उनको छातीमा टाँसिएको हुन्थ्यो ।

यसबारे थापाले आफ्नै वेबसाइट ‘ह्वाइनेपाल’मा लेखेका छन्, ‘सन् २०११ मा ‘परिवर्तनको लागि हामी नेपाली एक’ वा ‘नेपाल युनाइट्स’ भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो । नेपाल युनाइट्सले समाजका विभिन्न नागरिक अगुवाहरू र गैरराजनीतिक युवाहरूलाई एकै ठाउँमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा बोकी खुब दबाब दिइयो । त्यसपछि पनि उनी निरन्तर सडकमै थिए ।

सरकारले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पनि उनी सडकमा आए, प्लेकार्ड बोकेर । ‘बृहत् नागरिक आन्दोलन’ले गरेका विभिन्न कार्यक्रममा पनि उनले सहभागिता जनाए ।

कुनै वेला विवेकशील नेपाली दलका संयोजकसमेत रहेका थापालाई सडकमै देखिन्थ्यो । त्यसकारण पनि उनलाई धेरैले सरल र इमानदार राजनीतिज्ञका रूपमा चिने । र, आफ्नो मुद्दाको सहयात्रीका रूपमा लिए । ०७२ को भूकम्पमा उनी र उनको समूह देखिने गरी सहयोगमा जुट्यो ।

नेपाली राजनीतिमा सधैँ उठ्ने विषय हो, नेतृत्व हस्तान्तरण । तर, कमै अभ्यास हुन्छ । दलका नेताहरू आफूले ओगटेको पद छाड्न तयार छैनन् । नयाँ पुस्तालाई निर्णायक तहमा ल्याउन उनीहरूको चासो छैन । अहिलेका ठूला दलमा हेर्ने हो भने नेतृत्व तहमा विगत ३०/४० वर्षदेखि एउटै अनुहार हाबी छ । तर, थापा फरक रूपमा प्रस्तुत भए । नेतृत्वको होडबाजीमा उनले सहजै नेतृत्व हस्तान्तरण गरेर अर्काे उदाहरण प्रस्तुत गरेका थिए ।

उनी विवेकशील नेपालीको संस्थापक अध्यक्ष थिए । गत साल उनले आफू नेतृत्वमा नबस्ने घोषणा गरे । नयाँ पुस्तालाई ठाउँ उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । त्यसपछि नै नयाँ अध्यक्षका रूपमा आएका थिए, मिलन पाण्डे । नेतृत्व हस्तान्तरणपछि थापाले त्यतिवेला सार्वजनिक कार्यक्रम र मिडियामा समेत भनेका थिए, ‘मैले सकेजति गरेँ । अब, अझ जुझारु, अझै ऊर्जाशील नेतृत्व अगाडि आओस् ।’

एउटा वैकल्पिक शक्ति बनाउने भनेर थापालगायतको समूहले विवेकशील नेपाली दल खोलेको थियो । यो दल संविधानसभाको दोस्रो निर्वाचनलगत्तै २९ जेठ ०७१ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीले संगठन ठूलो बनाउन सकेन, तर कार्यशैली र मुद्दा उठानको कोणबाट पहिचान देश–विदेशमा बनायो ।

राजनीतिप्रति उनी विशेषगरी ०६९ सालपछि जोडिएका थिए । ०६४ सालको संविधानसभाले संविधान नबनाई ०६९ सालमा भंग भयो । मुलुक शून्यताको स्थितिमा पुग्यो । संविधान नबनेको र संविधानसभा पनि भंग भएको स्थितिमा जताततै अन्योल छाएको थियो । राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाउनुपर्छ भन्ने मान्यतामा त्यही वेला थापा, सन्तोष प्रधानलगायतका अभियन्ताले एउटा समूह बनाएका थिए ।

पहिलो संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचन हुने भयो । उनीहरूको समूह चुनाव लड्न तयार भयो । स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरूले कुकुर चिह्न लिए । काठमाडौं– ५ बाट थापा आफैँ, ४ बाट सन्तोष प्रधान, १ बाट गोविन्द नारायण र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए । तर, उनीहरूको समूहबाट कसैले पनि चुनाव जितेन । त्यतिवेला थापाले तीन हजार मत मात्रै प्राप्त गरेका थिए ।

थापाले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भाग लिएका थिए । त्यतिवेला उनले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकता भइसकेको थियो र विवेकशील साझा पार्टी बनेको थियो । यही पार्टीबाट उनले एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री नेता प्रकाशशरण महतसँग प्रतिस्पर्धा गरे, काठमाडौं– ५ मा । तर, पुनः पराजित भए ।

थापा राजनीतिमा मात्रै होइन, डिजिटल प्रविधिमा पनि चाख राख्ने व्यक्ति हुन् । ०६० मा डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सूचना प्रविधिमा आधारित घरेलु उद्योग नै खोलेका थिए उनले । आफ्नो कम्पनीबारे थापाले लेखेका छन्, ‘यस कम्पनीले देशको अर्थतन्त्रलाई खासै ठूलो योगदान पु¥याउन सकेको छैन, नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठूलो मद्दत पु¥याएको छ । सयौँ नेपाली युवालाई पहिलो रोजगार दियो जसले गर्दा पछि उद्यमी बनाउन पनि मद्दत गरेको छ ।’ थापा ‘नेपालका लागि उद्योगी’ भन्ने सञ्जाल निर्माणमा पनि सक्रिय थिए । यो उद्योगीहरूको मञ्च थियो जसले एक–अर्कालाई सहयोग गथ्र्याे ।

आफँैमाथि थापाको मूल्यांकन छ– मलाई फरक–फरक क्षेत्रमा हात हाल्न मन पर्छ । उनले लेखेका छन्, ‘म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु । एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिनँ म । त्यसैले होला चाहे त्यो कफीखेतीतिर होस्, वा पर्यटकहरूलाई नेपालमा मद्दत हुने लेखहरू लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेर होस् वा सूचना प्रविधिमा लागेर होस्, म ठाउँ–ठाउँमा हात हालिरहन्छु ।’

उनी पाँच वर्ष अमेरिका पनि बसे । नेपालमा कक्षा १२ को पढाइ सकेर छात्रवृत्तिमा एस्ट्रो फिजिक्स पढ्न गएका थिए । खगोल तथा भौतिक विज्ञान पढ्न गएका उनी झन्डै भिक्षु बनेर फर्केका थिए । भिक्षु संगठन नभेटेपछि त्यो रहर पूरा भएन । र, नेपाल फर्किएका थिए ।

राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’ छ । विवरणअनुसार उनको इसिएमओ विधिबाट उपचार भइरहेको छ । भेन्टिलेटर मात्र पर्याप्त नहुने बिरामीका लागि यो विधि प्रयोग गरिन्छ । उतारचढावपूर्ण जीवनयात्रा गरेका थापा अहिले जीवनको सबैभन्दा ठूलो संघर्षमा छन्, स्वास्थ्यकर्मीको साथ मात्र होइन, सिंगो देशको सद्भाव पनि उनीसँग छ ।