हेर्ने खबर/जितपुर–सिमरा उपमहानगरपालिकाको पथलैयास्थित महेन्द्र राजमार्ग क्षेत्रमा बृहत् वातावरण सरसफाइ अभियान सम्पन्न भएको छ। ‘वी लभ यु फाउन्डेसन’को आयोजनामा आइतबार सञ्चालन गरिएको उक्त अभियानका क्रममा करिब २५ सय केजी फोहोर संकलन गरिएको छ।
संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’को अवसरमा फाउन्डेसनले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ (Worldwide Clean WORLD Movement) अन्तर्गत पथलैयामा सरसफाइ कार्यक्रम गरिएको हो।
सरसफाइ अभियानमा फाउन्डेसनका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सुरक्षाकर्मीसहित करिब ३५० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
अभियानका क्रममा महेन्द्र राजमार्ग क्षेत्रमा जथाभावी फालिएका घरायसी फोहोर, कागज तथा प्लास्टिकजन्य सामग्री संकलन गरिएको थियो। सहभागीहरूले करिब ३०० बोरा अर्थात् २५०० केजी फोहोर संकलन गरेको फाउन्डेसनले जनाएको छ। संकलित फोहोरको उचित व्यवस्थापनका लागि जितपुर–सिमरा उपमहानगरपालिकाले सहकार्य गरेको थियो।
‘पृथ्वी पनि हाम्रो साझा घर हो’
कार्यक्रममा बोल्दै वी लभ यु फाउन्डेसन नेपाल प्रदेश–२ का संयोजक रामशरण अधिकारी ले आमाले आफ्नो घर सफा राखेर परिवारको स्वास्थ्य जोगाएझैँ पृथ्वीलाई पनि सफा राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “पृथ्वी ८ अर्ब मानवजातिको साझा घर हो। त्यसैले स्वच्छ वातावरणमा स्वस्थ जीवन जिउनु सबैको आधारभूत आवश्यकता हो।”
‘आमाको जस्तो मन’ लिएर पृथ्वीलाई सफा राख्दै मानव जीवनलाई स्वस्थ, सुखी र हर्षपूर्ण बनाउने उद्देश्यले फाउन्डेसनका सदस्यहरू वातावरण संरक्षण अभियानमा निरन्तर जुटिरहेको उहाँले बताउनुभयो।
जाति–धर्मको भेदभाव नगरी वातावरण संरक्षणमा जुट्नुपर्ने
जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङले जाति, धर्म र समुदायको भेदभाव नगरी सबैलाई सहभागी गराएर सञ्चालन गरिएको सरसफाइ अभियानले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिएको बताउनुभयो।
उहाँले यस्ता अभियानले नागरिकमा सरसफाइप्रतिको चेतना बढाउनुका साथै दीर्घकालीन रूपमा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
८४ देशमा फैलिएको क्लिन वर्ल्ड अभियान।
फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाको नेतृत्वमा गत नोभेम्बर १९ देखि नेपालका विभिन्न स्थानमा ‘क्लिन वर्ल्ड अभियान’ सञ्चालन भइरहेको छ। बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानसँगै एकै दिन भरतपुर, दमौली, भक्तपुर र जितपुर–सिमराको पथलैयामा समेत अभियान सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ।
‘स्वच्छ वातावरण नै मानव कल्याणको मुख्य आधार हो’ भन्ने उद्देश्यका साथ सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको क्लिन वर्ल्ड अभियानमा नेपालसहित हालसम्म ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिस सहभागी भइसकेका छन्।
वातावरणसँगै स्वास्थ्य र शिक्षामा पनि योगदान।
संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभाग (UN DGC) सँग आबद्ध वी लभ युले ‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराका साथ वातावरण संरक्षण, आपतकालीन राहत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न कल्याणकारी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
फाउन्डेसनका अनुसार चालु वर्षमा मात्रै नेपालका १७ स्थानमा ३ हजार ५०० भन्दा बढीको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै गोरखा र मध्यपुर थिमीलगायतका विद्यालयमा शैक्षिक तथा भौतिक सामग्रीसमेत सहयोग गरिएको छ।
विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको संस्थाले अमेरिकी राष्ट्रपतिको स्वयंसेवक सेवा स्वर्ण पदकलगायत १ हजार १०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको फाउन्डेसनको दाबी छ।
पथलैयामा सम्पन्न सरसफाइ अभियानले सार्वजनिक स्थल सफा राख्ने मात्र नभई वातावरण संरक्षण सबैको साझा जिम्मेवारी हो भन्ने सन्देश समेत दिएको सहभागीहरूले बताएका छन्।
