कोहलपुर/हेर्ने खबर। वातावरण संरक्षण, वन पुनर्स्थापना तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था ASEZ WAO ले कोहलपुर नगरपालिका–७ स्थित श्री मितेरी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘मदर्स फरेस्ट’ (Mother’s Forest) परियोजनाअन्तर्गत आयोजित उक्त कार्यक्रममा १ हजार बिरुवा रोपण गरिएको हो।
हिजो असोज २५ गते आयोजित कार्यक्रममा ASEZ WAO का सदस्य, उनीहरूका परिवार तथा छिमेकीसहित करिब १०० जनाको सहभागिता रहेको थियो। कोहलपुर सबडिभिजन वन कार्यालयको सहयोगमा शमशेरगञ्ज सबडिभिजन वन कार्यालयले वृक्षारोपणका लागि १ हजार बिरुवा उपलब्ध गराएको थियो। वनमा रूखबिरुवा कम भएको करिब एक हेक्टर क्षेत्रफलको जमिनमा वृक्षारोपण गर्दै सहभागीहरूले स्थानीय वनको पुनर्स्थापना तथा संरक्षणमा योगदान पुर्याएका छन्।
‘मदर्स फरेस्ट’ अर्थात् ‘आमाको वन’ विश्वव्यापी वातावरण संरक्षण परियोजना हो। आमाले आफ्ना सन्तानको हेरचाह गरेझैँ प्रेम र जिम्मेवारीका साथ रूख रोप्ने, वन विकास गर्ने तथा प्राकृतिक पारिस्थितिक प्रणालीको संरक्षण गर्ने उद्देश्य यस परियोजनाले लिएको छ। वन विनाश न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपणलाई महत्त्वपूर्ण माध्यमका रूपमा लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वनजङ्गलको संरक्षण आजको आवश्यकता भएको बताउँदै युवाहरूको सक्रिय सहभागिताको प्रशंसा गरे।
उनले भने, “अहिले मानिसकै कारण वनजङ्गल असुरक्षित हुँदै गइरहेको छ। धेरै युवाहरू कुलतमा फसिरहेको समयमा ASEZ WAO का सदस्यहरूले वृक्षारोपण गर्दै वनजङ्गल जोगाउनुपर्छ भन्ने सकारात्मक सोच प्रस्तुत गर्नुभएको छ। यस कार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्ता गतिविधिलाई पुर्ण साथ सपोर्ट दिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।”
त्यसैगरी, कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष ठग्या थारूले ASEZ WAO ले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रमको प्रशंसा गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि संस्थाले सञ्चालन गर्ने विभिन्न सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिमा आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी नवीन तिमल्सेनाले वातावरण संरक्षण अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
उनले भने, “ASEZ WAO ले विश्वभर वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आज यस ठाउँमा वृक्षारोपण गर्न पाउँदा साँच्चै खुसी लागेको छ। यस्ता उत्कृष्ट कार्यले आगामी दिनमा पनि वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्न थप हौसला मिलेको छ।”
ASEZ WAO का एक प्रतिनिधिले वन संरक्षणमा सामूहिक प्रयासको महत्त्व औँल्याउँदै वृक्षारोपणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “वृक्षारोपण गर्ने प्रत्येक व्यक्तिको प्रयास एकजुट भएमा विनाश भएको वनको पुनर्स्थापना गर्न र जलवायु परिवर्तनको सामना गर्न ठूलो योगदान पुग्न सक्छ। हामी स्थानीय समुदायसँग मिलेर स्वस्थ वनको विकास र संरक्षण गर्ने गतिविधिहरू निरन्तर सञ्चालन गर्दै जानेछौँ।”
ASEZ WAO युवाहरू को हुन्? यसले विश्वभर गर्दै आएको सामाजिक कार्य के-के हुन्?
ASEZ WAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग आबद्ध जागिरे युवाहरूको स्वयंसेवी समूह हो। ASEZ WAO नामले ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ’ (Save the Earth from A to Z, We Are One Family) भन्ने सन्देश बोकेको छ। संस्थाले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै विश्वका विभिन्न देशमा वृक्षारोपण, सरसफाइ, प्लास्टिक प्रदूषण न्यूनीकरण तथा समुद्री र नदीजन्य वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका प्रमुख वातावरणीय अभियानमध्ये ‘मदर्स फरेस्ट’, ‘ग्रिन अर्थ’ (Green Earth), ‘ब्लु ओसन’ (Blue Ocean), ‘नो मोर जीपीजीपी’ (No More GPGP) तथा ‘ग्रिन वर्कप्लेस’ (Green Workplace) रहेका छन्। यी अभियानमार्फत सहरी क्षेत्र, सडक तथा पार्कको सरसफाइ, नदी तथा समुद्रको संरक्षण, प्लास्टिकको प्रयोग न्यूनीकरण र कार्यस्थलमा वातावरणमैत्री अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
नेपालमा पनि ASEZ WAO ले वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। काठमाडौं, ललितपुर, नेपालगन्जलगायतका स्थानमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै प्लास्टिक प्रदूषण न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको संस्थाका प्रतिनिधिले जानकारी दिएका छन्।
कोहलपुर–७ स्थित मितेरी सामुदायिक वनमा सम्पन्न वृक्षारोपण कार्यक्रमले स्थानीय स्तरमा वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको सन्देश दिएको छ। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहलाई निरन्तरता दिन सके यस अभियानले वन पुनर्स्थापना तथा स्थानीय वातावरण सुधारमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।