पत्याउन गाह्रो पर्ला, तर संघर्ष र धैर्यले असम्भवजस्तो देखिने सपना, सम्भव बनाउँदो रहेछ भन्ने कुरा बसन्ता खड्काको कथावाट प्रष्ट हुन सकिन्छ।
अर्घाखाँची जिल्लाको वागी–गोवदीका खेमकुमार खड्का र आमा पुतला खड्काको कोखबाट, २०५० साल वैशाख १ गते, जन्मिएकी बसन्ता खड्का, आज सफल महिला उद्यमीका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।
उनको आजको सफलताको पछाडि अभाव, संघर्ष, आँसु, मेहनत र वर्षौँको धैर्यता लुकेको छ। 
स्नातक तहसम्मको शिक्षा हासिल गरेकी बसन्ता, २०७० साल माघ १७ गते सन्धिखर्क–४ आमडाँडा निवासी नमबहादुर रिजालसँग विवाह भयो।
श्रीमान् सशस्त्र प्रहरी बलमा कार्यरत थिए। विवाहपछि सामान्य पारिवारिक जीवन बिताइरहेकी बसन्ताले आत्मनिर्भर बन्ने, सुनौलो सपना भने मनभित्र सजाउन थाल्छिन्।
त्यही सपनालाई पछ्याउँदै, करिब २०७३/७४ सालतिर, उनी बुटवल पुग्छिन्। बुटवलमा तारपिन तेलको व्यापारबाट उद्यमशील यात्राको सुरुवात गर्छिन।
त्यो यात्रा त्यति सहज थिएन। व्यापारमा आउने उतारचढाव, आर्थिक अभाव र अनेकौँ चुनौती सामना गरेपनि हार भने मानिनन्।
तारपिन तेल भरेर बेच्न खालि बोतल खोज्दै, सडक र होटलसम्म पुग्थिन, खालि बोतल बटुलेको देख्दा, मान्छेले अनेक कुरा काटेपनि, उनले आफ्नो सपनालाई कहिल्यै तुहिन दिइनन् बरु, उनि आफु भित्र, गतिलो हिम्मतको उर्जा भर्दै निरन्तर आफ्नो कर्ममा लागिरहीन्, किनकि उनलाई सफल व्यावसायीको उडान भर्नु जो थियो।
व्यापारकै क्रममा उनले सन्धिखर्कमा सरफ उद्योग दर्ता गरिन्। तारपिन तेलको व्यवसायबाट विस्तारै, आफ्नै जिल्लातिर फर्किएर, परिवारको साथ र सहयोगमा सरफ उत्पादन सुरु गर्छिन। सुरुमा सरफ मात्रै बजारमा पुर्याउन कठिन भयो। त्यसपछि उनले साबुन उत्पादनतर्फ पनि पाइला चाल्छिन।
साबुन–सरफ उद्योग सुरु गर्दाको त्यो समय सहज थिएन। न ठूलो लगानी थियो, न आधुनिक मेसिन, न त भव्य संरचना। थियो त केवल एउटा सपना, केही गर्ने हुटहुटी र निरन्तर मेहनत गर्ने अठोट।
एउटा सानो सटरबाट उद्योगको यात्रा, हाते बेल्चाद्वारा सरफ मिक्सगरि साधारण कागजमा प्याकिङ गरिएर त्यही उत्पादन बोकि बजारसम्म लिएर जान्थिन।
आज त्यही सानो सटर र हाते बेल्चाबाट सुरु भएको यात्रा उद्योग हुँदै आफ्नै सुपरमार्केटसम्म आइपुगेको छ।
बजारको माग अनुरुप, उनले २०७६ सालमा साबुन बनाउने मेसिनसमेत थप गरिन्। सानो प्रयासबाट सुरु भएको उद्योग विस्तारै उनको जीवनको ठूलो आधार बन्दै गयो।
तर उनको सफलताको कथा त्यतिमै सकिँदैन।
२०८०–८१ सालतिरसम्म पनि संघर्ष गरिरहेकी बसन्ताको व्यवसायले २०८२ साल माघ महिनामा नयाँ मोड लियो। चेम्बर अफ कमर्स अर्घाखाँचीले आयोजना गरेको महोत्सवका क्रममा उनले आफ्ना उत्पादनको प्रचार गर्दै टिकटकमा भिडियो राखिन्। सामाजिक सञ्जालमा राखिएको त्यही प्रचारले उनको उत्पादनलाई नयाँ बजारसँग जोडिदियो। सरफ र साबुनको माग अचानक बढ्न थाल्यो। माग अर्घाखाँचीमा मात्र सीमित रहेन, जिल्लाबाहिरका बजारसम्म पुग्न थाल्यो।
वर्षौदेखि धैर्य गर्दै आएकी बसन्ताले बल्ल आफ्नो मेहनतको फल देख्न थालिन्। व्यापार बढ्यो, आम्दानी बढ्यो र आत्मविश्वास झनै बलियो हुँदै गयो।
उनको यही संघर्ष र सफलतालाई प्रदेश सरकार तथा स्थानीय तहले पनि पहिचान गर्यो। उद्योग सञ्चालन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनेकी बसन्तालाई सफल महिला उद्यमीका रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्यो।
आज बसन्ताको उद्यमशील यात्राले एउटा उद्योगमा मात्र सीमितता तोडेको छैन। एउटा फ्याक्ट्रीबाट सुरु भएको उनको व्यापारिक यात्रा अहिले सन्धिखर्क–२ मा रहेको आरभी एण्ड आर्या सुपर मार्केट र आरभी एण्ड आर्या कलेक्सनसम्म आइपुगेको छ। २०८२ साल श्रावण १६ गते उद्घाटन गरिएको सुपरमार्केटमा स्थानीय ग्राहकहरूको आकर्षण बढ्दो छ भने नजिकै रहेको आरभी एण्ड आर्या कलेक्सन र सरफ–साबुनको व्यापार सामाजिक सञ्जाल टिकटकले लाखौ दर्शको बिस्वास जितेको छ।
हिजो बाटो र होटलसम्म खाली बोतल खोज्दै हिँड्ने बसन्ता, आज करोडौँको व्यवसाय सम्हाल्ने सफल उद्यमी बनेकी छन्।
उनको कथा केवल एक महिलाको सफलताको कथा होइन। यो अभावसँग नडराउने साहसको कथा हो। असफलतासँग नझुक्ने अठोटको कथा हो। परिवारको साथ, आफ्नो मेहनत र वर्षौँको धैर्यले एउटा सामान्य जीवनबाट असाधारण सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको कथा हो।
बसन्ताको यात्राले एउटा कुरा स्पष्ट भन्छ।
सफलता एकै रातमा आउँदैन। वर्षौँसम्म चुपचाप गरिएको मेहनतले एक दिन संसारलाई आफ्नो कथा सुनाउँछ।
आज बसन्ता खड्का केवल व्यवसायी होइनन्, संघर्षबाट सम्भावनाको बाटो देखाउने प्रेरणादायी महिला उद्यमी बनेकी छन्।