चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले दिएको जानकारी अनुसार गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको हो।

अनुसन्धानको क्रममा निकुञ्जले गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू सहित दुई वटा खाग बरामद गरेको छ।

१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

अधिकारीहरूले मुख्य योजनाकार हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ। उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुंगानाले बताए।

यस्तै सिकारी चितवनका पासाङ भन्ने आइतेसिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्‍द्रबहादुर तामाङ छन्।

यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।