काठमाडौं – दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउने महाअभियानको शुभारम्भ कार्यक्रममा पूर्व राज परिवारका सम्पूर्ण सदस्यहरूको उपस्थिति हुने भएको छ ।

आज झापाको बिर्तामोडमा अभियानको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक प्रसाईँले भोलि मेची पुलमा हुने कार्यक्रममा पूर्व राजपरिवारका सदस्य, विभिन्न दलमा आबद्ध नेता कार्यकर्तासहित दुई लाख बढी जनसहभागिता हुने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नु हुँदै अभियानका संयोजक प्रसाईँले गणतन्त्र आएपछि मुलुक धर्म, जात र राजनीतिका नाउँमा विभाजित भएको बताउनुभयो ।

मुलुकलाई ठिक ठाउँमा ल्याउने हो भने २०४६ अगाडीको अवस्थामा पुर्‍याउनु पर्ने भन्दै प्रसाईँले अब मुलुकमा व्यवस्था र अवस्था दुवै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रसाईँले आफ्नो अभियान सुरु भएपछि सरकार र नेपाल राष्ट्र बैंक झस्किएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले अहिले ऋणीको फोटो टाँस्न बन्द गरेको बताउँदै उहाँले अब तत्काल राज्यले गरिब जनताले लघुवित्तका नाउँमा लिएको २० लाखभन्दा मुनीको ऋण मिनाहा गर्नुपर्ने बताउनु भयो । गणतन्त्र आएपछि मुलुकको एक करोड जनसङ्ख्या विदेशमा भासिनँ बाध्य भएको भन्दै उहाँले अब यो व्यवस्थाको विकल्प सोच्न आवश्यक रहेको बताउनु भयो ।

सरकारले फागुन एक गते जनयुद्ध दिवसको अवसरमा दिएको बिदाका बारेमा बोल्नुहुँदै उहाँले अब यो सरकारले अर्को वर्षदेखि यो बिदा दिन नसक्ने बताउनुभयो ।

आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाइले यसो भनेका थिए हेर्नुस्।