रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हब बनाउन सकिने बताएका छन् ।

शनिबार रोल्पाको लिवाङमा अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजले आयोजना गरेको दोस्रो अधिवेशनमा उनले प्रदेश र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाइनुपर्ने बताए ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको उनले बताए । यसको थप प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य पदका उमेदवार समेत रहेका पुनले कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिने बताए ।