काठमाडौँ । बोतल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोतल वाटर उद्योग संघले बोतल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज बिहीबारदेखि लागू गरेको हो ।
पानीको गुणस्तर मापदण्ड पुरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोतल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ ।
पार्टीको गुणस्तरमाथि पटक पटक प्रश्न उठेकाले गुणस्तरहित पानीको बिक्री वितरण न्यूनिकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो ।
संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबार आजदेखि सुरु गरेको उहाँले बताउनु भयो ।
संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव गोकुल थापाले गुणस्तर परीक्षण नगराएका वा गुणस्तर परीक्षण गर्दा मापदण्ड पुरा नगरेकाहरुले स्टिकर टाँस्न नमिल्ने जानकारी दिनुभयो ।
“गुणस्तरको मापदण्ड पुरा गरेका कम्पनीहरूलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ मापदण्ड पुरा नगरेकाहरुले पाएका छैनन्,” उहाँले भन्नुभयो ।
सङ्घमा अहिले काठमाडौँ उपत्यकाका मात्रै १ सय ८२ पानी कम्पनी आबद्ध रहेको र ती सबैको पानी परीक्षण हुने गरेको उहाँले बताउनु भयो ।
गुणस्तर परीक्षण गरिएका मध्ये केही उद्योगको पानी गुणस्तरहित देखिएको जानकारी दिँदै उहाँले त्यस्ता उद्योगलाई स्टिकर नदिइएको स्पष्ट पार्नुभयो ।
संघका अध्यक्ष गौतमले कुनै जार वा बोतलको पानी बारे कुनै गुनासो वा उजुरी भएका प्रमाणसहित सङ्घमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
“हामी जसरी हुन्छ, पानी उद्योगलाई जिम्मेबार, व्यवस्थित र विश्वसनीय बनाउन चाहन्छौँ, त्यसका लागि पानीको गुणस्तर परीक्षण गरी बारकोड स्टिकर टाँस्ने व्यवस्था गरेका हौँ,” अध्यक्ष गौतमले भन्नुभयो ।
उहाँले उपभोक्ताको हितलाई मुख्य प्राथमिकता दिएर यस व्यवसायलाई पवित्र, सम्मानित र आलोचना रहित बनाउनका लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धिसँगै अधिकांश बस्तु तथा सेवाको मूल्य वृद्धि भएपनि पानीको मूल्य वृद्धि भने नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।
“इन्धनको मूल्य वृद्धिका कारणले बोतल तथा जारको पानीको लागत, ढुवानी र सञ्चालन खर्च बढे पनि हामीले मूल्य बढाएका छैनौँ, बरु गुणस्तर बढाउन ध्यान दिएका छौँ,” अध्यक्ष गौतमले दावी गर्नुभयो ।
संसदीय समितिको निर्देशन अनुसार एक लिटरको बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ तोकिएको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो ।