हेर्ने खबर/काठमाडौं। स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यसहित विश्वव्यापी कल्याणकारी संस्था WeLoveU International ले काठमाडौंको बुढानीलकण्ठमा ‘विश्वव्यापी स्वच्छ विश्व अभियान’ सञ्चालन गरेको छ।

संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘२०२६ अन्तर्राष्ट्रिय स्वयंसेवक वर्ष’ को अवसरमा स्थानीय समुदायसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत बुढानीलकण्ठ नगरपालिका–५, नारायणथानमा बृहत् वातावरण सरसफाइ कार्यक्रम गरिएको हो।

नोभेम्बर २९ मा आयोजित सरसफाइ अभियानमा WeLoveU का सदस्य, परिवारका सदस्य, परिचित तथा स्थानीय समुदायका गरी करिब २८० स्वयंसेवक सहभागी भएका थिए।

स्वयंसेवकहरूले नारायणथानको मिलन चोकदेखि विष्णुमती नदीको पुलसम्मको करिब २ किलोमिटर सडक क्षेत्र सफा गरेका थिए।

नागरिक तथा सवारीसाधनको बाक्लो आवतजावत हुने सडक किनारमा छरिएका घरायसी फोहोर, कागज, प्लास्टिकलगायतका फोहोर संकलन गरिएको थियो। अभियानका क्रममा करिब २१० किलो फोहोर संकलन गरिएको आयोजकले जनाएको छ।

नगरप्रमुखदेखि शिक्षाविद र सुरक्षाकर्मीसम्मको सहभागिता।

सरसफाइ अभियानमा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख सुनिता लामासहित जनप्रतिनिधि, शिक्षाविद्, प्रहरी तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–५ का वडा सदस्य रामबहादुर तामाङ, भद्रकाली आधारभूत विद्यालयका प्रधानाध्यापक बासुदेव थापा, पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक राम लामा, हिमालयन बोर्डिङ स्कुलका प्रधानाध्यापक खिमराज घिमिरे, फ्युजन एकेडेमीका संस्थापक नारायण दुलाल, बुढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक वीरेन्द्र पाण्डे तथा हामा स्टिल कम्पनीका अध्यक्ष एवं पूर्वप्राध्यापक बालकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै WeLoveU का अधिकारीले स्वच्छ वातावरण सबैका लागि स्वस्थ र आनन्दपूर्ण जीवनको आधार भएको बताए।

उनले सरसफाइ अभियानले नागरिकलाई वातावरण संरक्षणप्रति थप जागरूक बनाउने र दैनिक जीवनमै स्वच्छताको अभ्यास गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे।

बुढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले WeLoveU को अभियानको प्रशंसा गर्दै संस्थाले वातावरण संरक्षण र विश्वलाई सुरक्षित राख्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।

उनले यस्ता अभियानमा सबै नेपालीको सहभागिता बढेमा वातावरणलाई जीवित प्राणीका लागि अझ अनुकूल बनाउन सकिने धारणा राखे।

नगरप्रमुख अधिकारीले आगामी दिनमा पनि वातावरण संरक्षण तथा जनचेतनामूलक गतिविधिमा बुढानीलकण्ठ नगरपालिका WeLoveU सँग सहकार्य र समर्थन गर्न तयार रहेको बताए।

नगर उपप्रमुख सुनिता लामाले समेत अभियानप्रति आभार व्यक्त गर्दै वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

‘पृथ्वीलाई आमाको प्रेमले अँगाल्न चाहन्छौँ’

सरसफाइ अभियानमा सहभागी WeLoveU सदस्य सृजना मुखियाले वातावरण संरक्षणलाई मानवताको भावनासँग जोडेर हेर्नुपर्ने बताइन्।

उनले भनिन्, “हामी यो संसारलाई आमाको प्रेमद्वारा अँगाल्न चाहन्छौँ। आमाको प्रेम नै संसारमा सबैभन्दा उत्तम प्रेम हो। यदि सबै जनामा आमाको जस्तै मन हुने हो भने यो पृथ्वी साँच्चै नै सबै जीवित प्राणीका लागि रहन योग्य ग्रह बन्नेछ।”

सन् २००८ देखि विश्वभर फैलिएको अभियान।

‘स्वच्छ वातावरण मानव कल्याणको जग हो’ भन्ने उद्देश्यसहित WeLoveU ले सन् २००८ मा दक्षिण कोरियाबाट ‘क्लिन वर्ल्ड अभियान’ सुरु गरेको हो।

नागरिक सहभागितामा आधारित यो अभियानअन्तर्गत विश्वका विभिन्न शहर, पार्क, पहाड, नदी तथा समुद्री क्षेत्रमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन हुँदै आएका छन्।

आयोजकका अनुसार यस वर्ष सेप्टेम्बरसम्म नेपालसहित ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिस अभियानमा सहभागी भइसकेका छन्।

वातावरणसँगै स्वास्थ्य र शिक्षामा पनि सक्रिय।

संयुक्त राष्ट्रसंघको DGC (Department of Global Communications) सँग साझेदारीमा रहेको WeLoveU ले ‘संसारलाई आमाको माया’ भन्ने नारासहित वातावरण संरक्षणका साथै आपत्कालीन राहत, स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक कल्याणका क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

नेपालमा यस वर्ष मात्रै संस्थाले १७ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रममा ३ हजार ५०० भन्दा बढी मानिस सहभागी भएको जनाइएको छ।

त्यस्तै, गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको मध्यपुर–थिमिलगायतका क्षेत्रमा विद्यालयलाई शैक्षिक सामग्री, झोला, कपडा, पंखालगायतका सामग्री सहयोग गर्नुका साथै विद्यालयका भौतिक संरचना सुधारमा समेत सहयोग गरिएको संस्थाले जनाएको छ।

१०२ देशमा ११ हजारभन्दा बढी कल्याणकारी गतिविधि।

WeLoveU का अनुसार संस्थाले हालसम्म विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको छ। ती गतिविधिमा करिब १ करोड ७ लाख सदस्य तथा नागरिक सहभागी भएको संस्थाको दाबी छ।

वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, राहत तथा सामाजिक कल्याणका क्षेत्रमा पुर्‍याएको योगदानका लागि संस्थाले १ हजार १०० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेको जनाएको छ।

यसमा अमेरिकी राष्ट्रपति स्वयंसेवक सेवा स्वर्ण पदक, कोरिया गणतन्त्रको अर्डर अफ मेरिट तथा कम्बोडिया र बेलायतका विभिन्न प्रतिष्ठित सम्मानसमेत रहेको संस्थाले जनाएको छ।