परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले वातावरण संरक्षण र समुदाय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर र रत्ननगर क्षेत्रमा विश्वव्यापी वातावरण सरसफाइ अभियान आयोजना गरेको छ।
पौष २८ गते बिहान करिव ९ बजेदेखि सुरु भएको सरसफाइ कार्यक्रम, लगभग दुई घण्टा तीस मिनेटसम्म सञ्चालन भएको थियो।
विश्व सुसमाचार समाज परमेश्वरको मण्डली नेपाल भरतपुर शाखाले आयोजना गरेको उक्त अभियानमा मण्डलीका सदस्य तथा स्थानीय छिमेकीहरू गरी करिब ४०० जना स्वयंसेवकको उत्साहपूर्ण सहभागिता रहेको थियो।
स्वयंसेवकहरूले भरतपुरदेखि रत्ननगरसम्म फैलिएको महेन्द्र राजमार्गको करिब ४ किलोमिटर सडक खण्ड (दायाँ–बायाँ गरी करिब ८ किलोमिटर) क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गर्दै करिब २ ट्र्याक्टर बराबर, झण्डै २ हजार किलो फोहोर उठाएका छन्।

परमेश्वरको मण्डलीका एक प्रतिनिधिले “दिगो भविष्य र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्यका साथ हामी सबै आमाको मन लिएर एकजुट भएका छौं। हाम्रो सानो प्रयासले समुदायलाई सफा र सुन्दर बनाउने तथा छिमेकीहरूमा आशा फैलाउने विश्वास लिएका छौं,” बताए।

अभियानप्रति समर्थन जनाउँदै भरतपुर महानगरपालिकाले फोहोर संकलनमा सहयोग गरेको थियो। कार्यक्रममा उपस्थित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले टिकौली जंगल आसपासको क्षेत्र उपेक्षित अवस्थामा रहेको उल्लेख गर्दै, विभिन्न निकायको समन्वय गरी सरसफाइ अभियान सफल बनाएकोमा परमेश्वरको मण्डली र स्वयंसेवकहरूप्रति कृतज्ञता व्यक्त गरिन्।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले नेपालमा वातावरण सरसफाइ, रक्तदान, छिमेकी सहयोग तथा आपतकालीन राहतजस्ता सामाजिक सेवामूलक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ। गत डिसेम्बरसम्म मात्रै नेपालमा ५९ हजारभन्दा बढी व्यक्तिको सहभागितामा ९८९ पटक यस्ता गतिविधिहरू सम्पन्न भइसकेका छन्। यस योगदानको कदरस्वरूप विभिन्न सरकारी तथा सामाजिक संस्थाबाट प्रशंसा–पत्र र सम्मानहरू प्रदान गरिएको छ।

मण्डलीले काठमाडौंको कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगञ्ज र कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

साथै, ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम’ नामक पूर्ण स्वैच्छिक रक्तदान अभियानमार्फत रगतको अभाव न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हालसम्म नेपालमा ४४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिसकेको मण्डलीले धेरै जीवन जोगाउन सहयोग पुर्‍याएको बताइएको छ।

सन् १९६४ मा कोरियाबाट सुरु भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हाल विश्वका १७५ देशका ७,८०० भन्दा बढी क्षेत्रमा फैलिएको छ। करिब ४० लाख विश्वासी सदस्य रहेको मण्डलीले बाइबलमा आधारित ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’मा विश्वास गर्दै विश्वभर सरसफाइ, सामाजिक सेवा, राहत तथा मानवीय सहयोगका गतिविधिहरू ४४ हजारभन्दा बढी पटक सञ्चालन गरिसकेको छ। यिनै योगदानका कारण मण्डलीले विश्वभर ५,४०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र अवार्डहरू प्राप्त गरेको छ।