निरन्तरको वर्षासँगै आएको बाढीका कारण हिमाली जिल्ला मनाङको सदरमुकामको चामे गाउँपालिका ४ नयाँबस्तीमा ४० घर विस्थापित भएका छन् । ६ वटा घर जोखिममा परेका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बिहीबार दिउँसोदेखि आएको निरन्तरको वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा परेको छ ।

शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले चारवटा कुखुराको टहरा बगाएको छ । सडक क्षतविक्षत बनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरूका आँगनसमेत बगाएको बताए ।
‘बाढीले चामेको नयाँबजारमा रहेको एभरेष्ट होटेल, साग्रिला होटेल बढी जोखिममा छन् ।’ एभरेष्ट होटेलको शौचालय बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए ।

बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण सारेका थिए ।

चामेको घट्टेखोला र ठाडोलाइनका खोलाहरूमा ठूलो बाढी आइरहेकाले चामे गाउँपालिकाले सूचना जारी गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोधसमेत गरेको छ ।