रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट नागरिकको राहत तथा उद्धारका लागि बागलुङको रामरेखा–१ स्थित मिनाम लाङ्घाली रेवस् मगर भेजा समाजले १ लाख ८२० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
रसुवामा अचानक आएको बाढीका कारण हजारौँ नागरिक बेपत्ता हुनुका साथै सयौँको मृत्यु र अरबौँ रुपैयाँ बराबरको जनधनको क्षति भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन देश–विदेशमा रहेका नेपालीहरू, विभिन्न संघ–संस्था, समाज तथा निजी क्षेत्रलाई आर्थिक सहयोगका लागि अपिल गरेका थिए।
प्रधानमन्त्रीको उक्त अपिलपछि मिनाम लाङ्घाली रेवस् समाजले पनि बाढीपीडितको राहतका लागि आर्थिक सहयोग जुटाएको हो। समाजले आफ्ना सदस्य तथा शुभेच्छुकहरूबाट थोरै–थोरै रकम संकलन गरी एकमुष्ट रूपमा सहयोग गरेको जनाएको छ।
समाजका अनुसार विपद्को यस कठिन समयमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले सामूहिक रूपमा रकम संकलन गरी सहयोग गरिएको हो । समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।
प्रधानमन्त्रीको अपिलसँगै देश–विदेशमा रहेका नेपालीहरूले राहत कोषमा मन खोलेर आर्थिक सहयोग गर्न थालेका छन् । सहयोग गर्नेहरूले आफूले जम्मा गरेको रकमको स्क्रिनसटसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।
समाजका सचिव घम घर्तीले राहत तथा उद्धारको काममा थोरै भए पनि आर्थिक सहयोग गरिएको बताए।
मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उनले घाइतेहरूको उपचार तथा घरबास गुमाएका बाढीपीडितका लागि यसरी नै प्रत्येक नागरिकले सहयोग गर्नुपर्ने बताएका छन्।
देशलाई समस्या परेको बेला सबै नागरिक एकजुट भएर बलियो खम्बाका रूपमा उभिनुपर्ने उनको धारणा रहेको बताएका छन्।
चीन–नेपाल सीमाक्षेत्रमा हिमनदी भत्किएपछि आएको भीषण बाढी भोटेकोशी हुँदै रसुवासहितका तल्लो तटीय क्षेत्रमा फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।