ठोरी (पर्सा), साउन ९ । पर्साको ठोरी गाउँपालिका–५ स्थित आठघरे गाउँमा स्थानीय तथा विदेशमा रहेका युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान गरिएको छ।
लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा स्थानीयवासीलाई आवतजावत गर्न असहज हुनुका साथै अन्धकारका कारण विभिन्न जोखिमसमेत रहँदै आएका थिए। यही समस्यालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत गाउँमा रहेका तथा वैदेशिक रोजगारीलगायत विभिन्न सिलसिलामा विदेशमा बस्दै आएका आठघरेवासी युवाहरूले संयुक्त रूपमा सडक बत्ती जडान अभियान सञ्चालन गरेका हुन्।
युवाहरूको आर्थिक सहयोग, श्रमदान र आपसी समन्वयमा गाउँका आवश्यक विभिन्न स्थानमा सडक बत्ती जडान गरिएको अभियानमा संलग्न युवाहरूले बताएका छन्। बत्ती जडानपछि रातिको आवतजावत सहज र सुरक्षित हुनुका साथै गाउँको वातावरण उज्यालो र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।
अभियानमा गाउँमा रहेका युवासँगै विदेशमा रहेका आठघरेवासीले आर्थिक तथा अन्य आवश्यक सहयोग गरेका थिए। स्थानीयवासी, शुभेच्छुक तथा सहयोगीहरूले पनि अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याएका छन्।
सडक बत्ती जडानलाई गाउँको समग्र विकासका लागि सामूहिक प्रयासको सुरुवातका रूपमा लिइएको छ। आगामी दिनमा गाउँदेखि प्रधानटोल जाने पुल निर्माणसहित शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ तथा अन्य विकास निर्माणका काममा समेत गाउँ र विदेशमा रहेका आठघरेवासीबीचको सहकार्यलाई निरन्तरता दिने अभियानमा संलग्न युवाहरूले बताएका छन्।
उनीहरूले अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीय युवा, विदेशमा रहेका आठघरेवासी, स्थानीयवासी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन्।
“गाउँको विकास कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी होइन, गाउँमा बस्ने र विदेशमा रहने सम्पूर्ण आठघरेवासीको साझा दायित्व हो,” अभियानमा संलग्न युवाहरूले बताएका छन्।
आपसी एकता, सहकार्य र सामूहिक प्रयासबाट स्थानीयस्तरका समस्या समाधान गर्दै गाउँको विकासमा ठोस योगदान पुर्याउन सकिने विश्वाससहित युवाहरूले ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानलाई आगामी दिनमा अझ योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।