विश्वव्यापी ११८७ औं रक्तदान अभियानमा हेटौंडामा १५९ जनाले गरे रक्तदान गरेका छन। जिल्ला रेडक्रसको प्राविधिक सहयोगमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी ११८७ औं रक्तदान अभियान अन्तरगत आज हेटौंडामा रक्तदान आयोजना गरिएको हो। विश्व सुसमाचार समाज परमेश्वरको मण्डली नेपाल हेटौंडाको आयोजनामा बुधबार बृहत रक्तदान कार्यक्रम भएको थियो।

रक्तदान कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तान उपस्थित रहेका थिए। कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले रक्तदान जीवनदान भएको बताउदै, रक्तदान गरेर पुण्यको काम गर्न सबैलाई आग्रह गरिन।

मन्त्री मोक्तानले मण्डलीले गरेको विभिन्न सामाजिक क्रियाकलापहरु देखेर परमेश्वरको मण्डलीका सदस्यहरुको उच्च प्रसंसा गर्दै, समाज सुधार गर्न एकजुट हुनुपर्नेमा जोड दिईन। जातधर्म जतासुकै भएपनि एक आपसमा सहयोग र प्रेमको भावना सबैमा हुनुपर्ने बताईन।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, वडा नम्बर ९ का वडा अध्यक्ष सुकराम केसी, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापा, समाजसेवी शिक्षाविद पुरन बहादुर जोशी, जिल्ला प्रहरी प्रमुख बामदेव गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो।

परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरुमा स्थापना भएको छ भने मण्डलीमा ३५ लाख सदस्य रहेका छन्। छिमेकीलाई सहयोग, आपतकालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिडका कारण जोखिममा परेकालाई सहयोग गर्ने काम गर्नुका साथै मण्डलीले ख्रीष्टको प्रेमलाई विशवका विभिन्न ठाँउहरुमा कार्यान्वयन गरिरहेको उक्त सभाका अध्यक्ष पर्शुराम तिमल्सिनाले बताए।