गीता आचार्य नियमित चेकअप अनि भेटघाटको क्रममा आमा काठमाण्डौं आउनु भयो। एकाएक मुक्तिनाथ दर्शनको योजना बन्यो। म,दिदी अनि दिदीको छोरा भएर आमालाई साथमा राखेर पोखरा पुग्यौ।

पोखरा देखि जोमसोमको लागि बिहान ७ बजेको फ्लाईट थियो। राति अबेरसम्म गफ गर्दै बसेकाले बिहान ढिलासम्म सुतौला भनेर अलार्म पनि सेट गरेको थिएँ। बिहान ६ बजे होटेलकै गाडिमा एयरपोर्ट पुग्यौं।

मौसम चिसै थियो। बिहान झमझम पानी दर्किरहेको थियो। ७ बजेको फ्लाईट डिले भएर ३ घण्टा जहाजको पर्खाईमै थियौं। समय कटेको पनि पत्तै भएन। हामीजस्ता पर्खाइमा रहेकाहरूलाई देखेर पनि चित्त बुझ्थ्यो। धेरैजसो भारतिय नागरिकहरू जहाजको पर्खाइमा थिए। ३ घण्टाको पर्खाईमा घरको चिया निकै मिस गरे। चियाको पारखी म कागजको गिलासको चियाले चित्तै नबुझ्ने ! बाबु (दिदीको छोरा) मेरो चियाको भाषा नबुझेको पनि होईन तर पनि त्यो चियाले मलाई कत्ति नछुने। घरबाट निस्किदा ठूली छोरीले मम्मी हजुरले आनन्दले चिया पिउँदै गईसेला है! भनेको मनैमा बिझायो।

३ घण्टाको पर्खाई पछि पहिलो जहाजले जमिन छोड्यो। अब हाम्रो पालो आयो भन्दै हामी आफ्ना लगेजहरूसँगै अघि बढ्यौ। जे होस् आज जहाज क्यान्सिल नहुनेमा ढुक्क भयौ। वोरिङ पास पछि हामी जहाज चढ्न रेडि मात्र के भएका थियौं एक्कासी ल ल हट्नुस् भन्दै हतासमा सबै यात्रुलाई फर्काउन थाले। मौसम खराब भएछ सोचेरै हामी निस्कियौं। ठीकै छ आरामसँग पोखरा घुमौला सोच्यो यो मनले। जहाज क्यान्सिल भयो भनेर छोरीहरूलाई फोन मात्र गर्न के लागेको थिएँ!

मम्मी (आमा) हजुर आफैं बोलेको त हो नि!
साच्चै मम्मी हजुर आफैं बोलिसेको हो?  क्वा क्वा रूदा मेरो मन झसङ्ग भयो। के भयो तिमीहरूलाई भन्दै अत्तालिए झनै! कसरी हजुरहरू बाँचिस्यो? मम्मी हजुर आमा खै? ठूली मम्मी खै? विपुल दादा खै? भन्दा झनै अलमलमा परे म। पछि बल्ल थाहा भयो हामी भन्दा अगाडिको जहाज क्रयास भएछ।

शरीर लल्याक लुलुक भयो। हात थरथर काँप्यो।घरमा सबैले हामी चढेकै जहाज क्रयास भयो भनेर रूवाबासी गर्दै रहेछन्। संयोग पनि त्यस्तै भयो हामी उड्यौ है नानू भनेर छोरीलाई फोन गरेको थिएँ!  त्यसको लगत्तै त्यस न्युजले हाम्रो परिवारमा खैलाबैला मच्चिएको रहेछ।

दिदी बहिनी मुखामुख गर्यौ। बाबुले अँधेरो मुख बनायो। एयर पोर्टमा एकछिन पनि अडिन मन लागेन। बाहिर निस्कि हाल्यौं। छोरीहरूले रूदै फर्किनुस भन्दै बिन्ति गर्छन्। दिदीको छोरी त्यसै गर्छे। एकछिन म निशब्द भएँ।

संयोग पनि त्यस्तै आमाको मुक्ति नाथको यात्रा कहिल्यै जुरेन पनि। कहिले छोरासँग जान्छु भन्नु हुन्थ्यो। हिड्नै लाग्दा केही न केहिले छेक्थ्यो। यसपाली हामी पनि छोरा हौं हिड्नुस् भनेर अघि लागेका थियौ। एक मनले आमाको मुक्तिनाथको यात्रा यस्तै रहेछ झैं लाग्यो। अर्को मनले पुग्नै पर्छ मरे पनि आमासँगै मरौला भन्दै भोलिपल्ट बिहानै एउटा स्कोर्पियो भाडामा लिएर लाग्यौ मुक्तिनाथ तर्फ। दिदीको हँसाउने बानीले बाटो काट्न खासै गाह्रो भएन। जति नै हाँसे पनि मन चाहिँ हाँस्न सकेको थिएन। हिजो आफ्नै अघि खेलीरहेका साना नानी बाबुु आँखामै खेलिरहे। एकै परिवारका सात जना पर्दा त्यस परिवारमा परेको पीडा हामीले बोध गर्नै सक्दैनौं। आखिर जिन्दगी केही रहेनछ। बाँचुन्जेलको तछाड मछाड बाहेक ।

जोमसोममा जागिरको सिलसिलामा पुग्नु भएका दाइ (मामा घर तिरको ) उहाँको सामिप्यताले हामीलाई त्यहाँको बसाईं अनि भोलि पल्टको यात्रामा सहजता थप्यो।कागबेनी पुगेर बुवा लगायत पितृहरूको नाममा तर्पण दियौं अनि मुक्तिनाथको दर्शन गरेर पोखरा तर्फ फर्कियौं। हामीसँग हिड्दा चालक भाइ पनि निकै रमाए। हजुरहरू जस्तो रमाईलो यात्रु आजसम्म पाएको छैन भन्दै थिए। काठमाडौं पुग्दा हामीलाई सम्झनु भन्दै विदा भयौं।

जे होस् हाम्रो परिवारले हाम्रो पूनर्जन्म ठानेको छ। सायद भाग्य भनेर यसैलाई भन्दा होलान्। तारा एयरको जहाजमा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना।