रोल्पा – कुनै पनि बालबालिका श्रममा नभएको पुष्टि गर्दै त्रिवेणी गाउँपालिका ५ बालश्रम मुक्त वडा घोषणा भएको छ ।

त्रिवेणी गाउँपालिकाको बालश्रम मुक्त गर्ने तीन वर्षे रणनीति योजना र लक्ष्य पूरा भएको भन्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले पालिकाकाे पहिलो वडाको रूपमा वडा नं. ५ जुगारलाई बालश्रम मुक्त घोषणा गर्नुभएकाे हाे । ‘असल अभिभावक, सुरक्षित बालबालिका : सुखी र समृद्ध त्रिवेणी गाउँपालिका’ मूल नाराका साथ त्रिवेणी गाउँपालिकाले बाल श्रम निवारणसम्बन्धी रणनीति योजना २०७५—२०७७ निर्माण गरी कार्यान्वयन गरेको हो ।

याे रणनीति योजना निर्माण र कार्यान्यवन गर्न सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले सहजीकरण गरेको वडा नं. ५ का अध्यक्ष कृष्ण केसीले बताउनुभयाे ।

परम्परागत रूपमै पहिलेदेखि नै रोल्पाबाट विद्यालय उमेरका बालबालिका इँटा भट्टा लगायतका जोखिमपूर्ण श्रममा जाने समस्या रहँदै आएकोमा त्रिवेणी गाउँपालिकाले त्यसको निवारणका लागि पहल गरेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयाे ।

बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ अन्तर्गत त्रिवेणी गाउँपालिकाले नेपालमै पहिलो बालश्रम मुक्त पालिका बन्नका लागि प्रयास गरेको हो । बालश्रम निवारणका लागि यसअघि सेभ द चिल्ड्रेन र हुरेक नेपाल रोल्पाले तीन वर्षसम्म शिक्षा, बाल संरक्षण र जीविकोपार्जन सम्बन्धी एकीकृत कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।