नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले २९ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को अवस्थालाई मध्यनजर गरी घरेलु, साना तथा मझौंला उद्योगमा परेको प्रभाव र समाधानको उपायबारे ‘उद्योगीहरुका लागि भविश्य निर्माण र लक्ष्य निर्धारण’ सम्बन्धी अभिमुखिकरण भर्चुअल प्रविधि मार्फत मनोपरामर्श गराइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाका अध्यक्ष सुबसना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै महासंघ केन्द्रिय अध्यक्ष गिरीले कोभिड १९ को असहज परिस्थितिमा समेत काभ्रे शाखाले २९ औं बार्षिक उत्सवको अवसर पारेर उद्योमीहरुमा परेको समस्या, समाधान र भविश्य निर्माणका क्रममा आइपर्ने समस्याको समाधान गर्नु पर्ने विषयको अभिमुखिकरण गराइएकोमा काभ्रे शाखालाई बधाईका साथ कृतज्ञता ज्ञापन गर्नु भएको थियो । घरेलु, साना तथा मझौंला उद्योगमा कोभिड १९ का कारण परेको प्रभावका बारेमा मन्त्रालयमा जानकारी गराई समस्या समाधानको लागि पहल भैरहेको समेत जानकारी गराउनु भयो । यसै विच महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहले वर्तमान समयमा एक आपसमा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । विगतको स्मरण गराउँदै महासंघ यस स्थानसम्म आइपुग्नुमा संस्थापन पक्ष र मार्गदर्शकको भूमिकालाई सम्झनु पर्ने बताउनु भयो । महिला उद्यमी समितिका अध्यक्ष अन्जु सिबा उपाध्यायले वर्तमान समयमा भर्चुअल प्रविधि मार्फत उद्यमीहरुका लागि गराइएको अभिमुखिकरण निक्कै प्रभावकारी रहेको बताउनु भयो । ज्ञान, अध्यन, शिप र आर्थिक व्यवस्थापनले नै उद्यमीहरुलाई अगाडी बढाउन प्रेरित गर्ने महासंघका कोषाध्यक्ष सत्य नारायण प्रजापतीले बताउनु भयो । मन्तव्यकै क्रममा महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्ष रोसनी उपाध्ययाले उद्यमीहरुको हौसला प्रदान गर्न आयोजना गरिएको ‘उद्यमीहरुको लागि भविश्य निर्माण र लक्ष्य निर्धारण’ अभिमुखिकरण कार्यक्रमलाई ७७ वटै जिल्लामा लग्नु पर्नेमा सुझाव दिनुभएको थियो । झण्डै दुई घण्टाको प्रशिक्षण अभिमुखिकरण खुशी बाडे खुशी बढ्छका संयोजक, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक, पत्रकार दिपक लामिछानेले उद्यमीहरुको लागि महत्वपूर्ण विषयमा अभिमुखिकरण गराउनु भएको थियो । सबैको साथ र मार्गदर्शनले नै संस्थाले २९ औं बार्षिक कार्यक्रम सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमी समितिका उपाध्यक्ष चन्दा श्रेष्ठले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो । सो कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरका अध्यक्ष तथा प्रदेशका सदस्यहरुको प्रतिनिधित्व रहेको थियो । ३५ जना सहभागी रहेको उक्त कार्यक्रमलाई रमन श्रेष्ठले संचालन गर्नु भएको थियो । यति महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम सबै उद्यमीहरुमा पुग्नु पर्ने सहभागीहरुको सुझाव रहेको थियो ।