काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले आज बयानका निम्ति बोलाउन लागेको छ।

“समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “उहाँ (रवि लामिछाने)लाई शुक्रबार बोलाउने तयारी छ।”

उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ। लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन्।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार बयान लिएको छ। समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ।

सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गएको जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो। नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको समितिले तीनमहिने कार्यावधि पाएको थियो।

एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन्।

समितिका सदस्य दाहालले समायावधिभित्रै सभामुखसमक्ष प्रतिवेदन बुझाइने बताए । “आरोपितहरूको बयान लगभग अन्तिम चरणमा पुगेको छ । समयभित्रै प्रतिवेदन बुझाउँछौँ,” उनले भने।

समितिले प्रतिवेदनको ‘ड्राफ्ट’ पनि तयार गर्दै छ। प्राप्त प्रमाणका आधारमा जस्ताको त्यस्तै प्रतिवेदन बुझाउने समितिको तयारी छ।

“ड्राफ्ट तयार गरिरहेका छौँ। प्राप्त प्रमाणका आधारमा जहाँजहाँ जे समस्या छन्, जस्ताका त्यस्तै प्रतिवेदन पेस गर्ने भन्ने तयारी छ,” समिति स्रोतले भन्यो।

आरोपमा प्रमाण पुगेका व्यक्तिहरूको नाम प्रतिवेदनमा किटान गर्ने तयारी छ। समितिले मुख्यतः तीन विषयलाई प्राथमिकता दिएको छ। पहिलो, नीतिगत समस्या। दोस्रो, नियतजन्य समस्या के हो, क–कसमा देखिय ? तेस्रो, परिस्थितिजन्य समस्या के रह्यो? बाह्रखरिमा समाचार छ।