काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको हो।

भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरवाना तिराउने फैसला गरेको हो।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त इजलासले जोशीलाई ९ महिना कैद सजाय पनि सुनाएको छ। जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो।

२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी/सार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति थुपारेको ठहर गरेको थियो।

भ्रष्टाचार गरेजति नै जरिवाना र डेढ वर्ष कैद सजाय पनि विशेष अदालतले सुनाएको थियो। अख्तियारले दाबी गरेभन्दा झन्डै दुई करोड कम भ्रष्टाचार गरेको विशेषको ठहर थियो।

विभिन्न उच्च पदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न भन्दै तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा आयोग गठन गरेको थियो। सो आयोगले जोशीलगायतको सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्नु पर्ने प्रतिवेदन दिएको थियो। उक्त प्रतिवेदनका आधारमा अख्तियारले २०६० सालमा जोशीको सम्पत्तिबारे विस्तृत अनुसन्धान अघि बढायो।