काठमाडौँ। पशुपति क्षेत्र, (वनकाली) हंसमण्डप, काठमाडौंमा कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ। मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो। महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ भने आज शनिबार बिहान भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौँ आइपुगेका छन् ।
नेपालको इतिहासमा हालसम्मको ठुलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन्।
महाराज स–परिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन्।
उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौँ भक्तजनहरूको सहभागिता हुने गरेको छ। डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची रहेको छ।