धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

अहिलेसम्म तीन वटा फरक गाडीबाट सुरक्षाकर्मीहरुले ३५ जनाको शव निकालेका छन्। शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो। सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए। जसमध्ये ८ पुरुष र ६ महिला थिए।

लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो। उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो।

त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए। ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन्।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ। मृतक चारै जना पुरुष रहेको एसपी अधिकारीले बताए। जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन्।

झ्याप्ले खोलामा पहिरोबाट निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ।