-विनिशा सापकोटा


यतिबेला मेरो मन मस्तिष्क सारङ्गीले कब्जा गरेको छ। ४ दिनदेखि सुतेको ज्यान हिजो पूर्णबहादुरको सारङ्गीले उठायो। ओसाकाको शो सोल्ड आउट भनेर फेसबुकमा ट्याग भएर आएको पोस्ट देखेपछि हेर्न जाऊँ जाऊँ लाग्यो र कृती बहिनीलाई मेसेज गरेँ, “टिकट मिल्छ भने बुझ त” भनेर। उनले पनि तत्कालै बुझिन् र पाइयो पनि। औषधि खाएरै भएपनि उठेँ र साझको बेला भोको पेटमै फिल्म हेर्न गएँ।
उता कृति पनि कलेजबाट सिधै आएकी रे, म नि भोक्कै छु भन्थिन् । पछि सुबास भाइ भेट भयो। भाइको पनि हालत हाम्रो जस्तै । ठीकै छ हामी फिल्मलाइ नै भरौँ न त भन्दै हल भित्र छिर्यौ।
नढाँटी भन्नुपर्दा म खासै नेपाली चलचित्र हेर्दिनँ, त्यसैले धेरै चलचित्रको बारेमा थाहा पनि थाहा हुँदैन। एकदम कम नेपाली चलचित्र हेरेको छु र कमै मात्र राम्रो पाएको छु। पूर्णबहादुरको सारङ्गी पशुपति प्रसादपछि मलाई मन परेको अर्को नेपाली चलचित्र लाग्यो। यसले जुन सफलता र लोकप्रियता कमाइरहेको छ, त्यो कमाउन लायक पनि रहेछ। एकदम सानो सानो डिटेल्सलाई कति मज्जाले प्रस्तुत गरिएको। ‘स्क्रिप्ट’लाई ‘स्क्रीनप्ले’ बनाउन जान्ने हुनुहुँदो रहेछ लेखक अनि राम्रो ‘स्टोरीटेलिङ’ जान्ने हुनुहुँदो रहेछ निर्देशक भन्ने महसुस गरेँ मैले।
मलाइ लाग्छ “राम्रो चलचित्रमा हरेक सीन बोल्छ, हरेक दृश्य बोल्छ, हरेक बस्तु बोल्छन जुन दृष्यमा फोकस हुन्छन । कतिपय ठाउँमा पात्र बोल्नै पर्दैन।” साँच्चै पूर्णबहादुरको सारङ्गीमा पात्रले बोलेर त डाइलग डेलिभरी जस्टिफाई गरेकै छन्, कतिपय सीनमा नबोलेरै पनि अति नै मिठो डाइलग महसुस हुन्छन् । त्यस्तै एउटा सीन हो स्कूल ड्रेस लगाएको बुख्याँचा। त्यो सीन आइरहँदा नै म प्रार्थना गरिरहेको थिएँ कि यहाँ केही डाइलग नहोस् भनेर। र नभन्दै त्यहाँ एक शब्द नबोली कति ठूलो सन्देश थियो, संवाद थियो अनि आक्रोश र क्रान्ती थियो। त्यतिबेला ताली पिटेँ मैले त्यो दृश्य लेख्ने कलमलाई। पूर्णबहादुरको सारङ्गीमा त्यस्ता ताली पिट्ने मोमेन्ट धेरै भेटेँ मैले।
नेपालमा पनि नदेखेको खचाखच भरिएको हल, अझ सिट नपाएर उभिरहनु परेको समेत देख्दा निकै खुसी लाग्यो। नत्र केहि कार्यक्रमहरूमा हामीलाई मान्छे जुटाउन परेको धपेडीको अनुभव पनि छ यहाँ। हलमा इन्ट्री गरेदेखि नै सबै जना “आज रुन आएको” भन्दै जिस्किँदै थिए। हामी पनि एक अर्कालाइ ‘टिस्यु बोकेको छ नि?’ भन्दै जिस्काउदै थियौँ । चलचित्रको सुरुवातमा हलमा हाँसोको गुन्जन निकै गुन्जिएको थियो । पूर्णे र बटुलीको प्रेम प्रसङ्ग अति नै रसिक र साँच्चै नै हाम्रै परिवेशको हो जस्तै लाग्ने, त्यतिबेलाको रोमान्टिक मोमेन्ट्सलाई कति सरल र मिठो तरिकाले प्रस्तुत गरिएको। मन भित्रै बाट खुसी लागिरहेको थियो त्यो परिवेश र कथाबस्तुको भावमा बगेको स्टोरीटेलिङले ।
`रैँया चादीको´ बज्दा त सिंगो हल नै नाच्यो, फोटो र भिडियो खिच्नेको भिड त्यस्तै। तर जब कहानी अगाडि बढ्दै गयो, तब बिस्तारै सुकसुकाउदै गरेको आवाजहरु आउन थाले । छेउमा बसेको सुभाष भाइ भन्दै थियो, “दिदी नि रुनुहुन्छ होला है” भनेर। ‘साधारण कथा वाचन गर्दा त रुने म झन् फिल्म हेर्दा कति रुन्छु होला है’ भन्दै जिस्किँदै थिएँ म। कुरा हो पनि। कथावाचनको क्रममा कति पटक कथा रेकर्डिङ नै रोक्नु पर्ने गरी रुन्छु म कथाबस्तुमा डुबेर। मलाइ सुन्नेले नि भन्नु हुन्छ, तपाईं नि रुनु भाथ्यो फलानो कथामा भनेर । तर पूर्णबहादुरको सारङ्गी हेरिरहँदा किन किन मैले आँसु खसाल्न सकिनँ। चलचित्रका हरेक पाटोले मलाई दुखाइरहेको थियो, ऐठन होला जस्तै भइरहेको थियो। तर पनि परेला भिजाएर झर्नै आटेका आँसुका थोपाहरुलाइ बाटो दिनै सकिनँ।
प्रकाश सपुत जब एसएलसीमा जिल्ला टप गरे भन्दै कुद्दै आउँछन्, त्यो मोमेन्टमा भक्कानो फुटिसकेको थियो तर झट्ट आफ्नो एसएलसी सम्झिएर झस्किएँ। गाउँमा सरकारी स्कूल पढेर पनि त्यति धेरै नम्बर ल्याएको भन्दै मेरो बाबा आमाले गर्वले शिर ठाडो पार्नुभएको पल सम्झिएँ। किन किन “रुनु हुँदैन” भनेर मनले थपथप्यायो मलाई। रोकेँ आँसुलाई, भरिएको गहको आँसु खै कहाँ लुक्यो आफैं।
चलचित्रको प्लटिङ अनि अभिनयको तारिफको लागि मसँग शब्द नै छैन। केही कुरा अलिकति लजिकल नलागे पनि लगभग सबै दृश्य एक आपसमा मिलेर जोडिएका छन्।
स्कूलमा सेतो कोट लगाउँदा पाएको सम्मानको महत्वले त्यो बाल मस्तिष्कलाई दिएको हौसला कति मीठो अनि त्यति नै दर्दनाक पनि । त्यो कमलमा मैले एक सानी ‘कमली’लाई भेटेँ। जो सानो उमेरदेखि डाक्टर बन्न चाहन्थिन्। सधैं रगतको खोलामा डुबेर बाँचिरहेकी आफ्नी आमाको उपचार गर्न चाहन्थिन्। छातीमा अपरेशन बिग्रिएर बढिरहने, अनि बेला बेला पाकेर दुख दिरहने बाबाको घाउ ठीक गर्न चाहन्थिन् र बाबालाइ सधैको पीप र रगतबाट मुक्त गराउन चाहन्थिन्। तर सपना देखेर मात्रै पूरा हुँदैन। सपना पूरा हुन धेरै कुराको तालमेल एकैपटक मिल्न आवश्यक हुन्छ भन्ने कुरा कमलीले बुझिन । त्यसैले डाक्टर बन्ने सपना उनी हुर्किएसंगै तुहिदै गयो र उनले भबिश्य चुन्ने बेलासम्म त त्यसको कुनै अवशेष नै बाँकी रहेन।
पूर्णबहादुरले एक्लो छोरो कमललाई जसरी पनि डाक्टर बनाएरै छाडे। तर कमलीका रोगी बा आमाले कमलीलाइ डाक्टर बनाउन सकेनन्। १ पैसाको हैसियत नभएको घरमा हजारौको सपना देख्नु पनि हुन्न भन्ने कुरा पनि कमलीले बुझिन तर गर्वको कुरा के छ भने, कमलीका बा आमाले कमलीलाइ ठुलो त हैन तर ‘मान्छे’ जरुर बनाउनु भयो। यो कलियुगमा, “म मानव हुँ र मैले सही र गलतको फरक छुट्याउन सक्नुपर्छ “भन्ने चेतना कमलीको हुर्कँदै गएको मस्तिष्कमा भरिदिनु भयो र आज उ जुन स्थानमा छे, उसलाइ आफ्नो ‘स्व’मा गर्व गर्न लायक बनाउनुभयो।
सायद त्यसैले म रुन सकिनँ। रोएर आँसुलाई कमजोर बनाउन सकिनँ। यी आँसुले त मलाई बलियो पो बनाएका छन्। त्यो सङ्घर्ष जुन पूर्णबहादुरले गरे आफ्ना छोराका लागि, त्यस्तै र त्योभन्दा फरक तर अझै धेरै सङ्घर्ष हाम्रो बाबा आमाले हामीलाई हामी बनाउन गरेका छन्। ति पलहरुको बयान यहा गरेर साध्य नै छैन।
खैर, चलचित्र एकदम उत्कृष्ट बनेको रहेछ। कति धेरै तारिफका शब्द थिए होलान्, तर यतिबेला मेरो मस्तिष्कले तारिफ गर्न जानेन। म स्तब्ध छु। तर राम्रो फिल्म मेकिङको लागि बधाई पनि नदिई बस्न सक्दिनँ।
र कुशल अभिनयको लागि सबै कलाकारलाई आभार पनि नगरी बस्न सक्दिनँ। मुख्य कलाकार संगै सम्पुर्ण सहयोगी कलाकारको अभिनय पनि लोभलाग्दो छ । राम्रो अभिनय, राम्रो डाइलग, कुशल निर्देशन र कथाबस्तुको तालमेल मिल्यो भने चलचित्र चलाउनकै लागि अर्को जन्म लिएर आउँछु भनेर रुनु पर्दैन भन्ने राम्रो सबक हो पूर्णबहादुरको सारङ्गी।
एउटा व्यक्तिगत गुनासो भने कि अभिलाषा। चलचित्रमा कतै न कतै अथवा अन्त्यमा नै सही, झलकमान गन्धर्वको एउटा गीतको मात्र भए पनि झलक राखेर उहाँलाई ट्रिब्युट दिनुभएको भए सुनमा सुगन्ध नै हुन्थ्यो होला। किनकि जब जब सारंगीको कुरा आउँछ, मलाई लाग्छ हामी सबैको मन मस्तिष्कले झलकमान गन्धर्वको “आमैले सोध्लिन् नि” भन्ने गीत स्वतः गुनगुनाउन थाल्छ।