प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन्।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन्।

स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धिमूलक भएको बताइन्।

उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन्।

भ्रमणका क्रममा उनले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्त्व रहेको धारणा राखेकी थिइन्।

भ्रमणका क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतको लीजीमा उच्चस्तरीय भेटघाट गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका उपसचिव चेन योङ्ची लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन्। त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकीय सचिव कुमार नेपाली समेत सहभागी रहेका थिए । यसैगरी फोरममा सहभागी हुन चीन गएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन्।