दाङमा उत्पादित भएका स्ट्रबेरी धमाधम विक्री गर्न सुरु गरिएको छ।
दाङको घोराही उपमहानगरपालिका १४ रतनपुरमा एग्रोमार्ट कृषि फर्मबाट स्ट्रबेरी विक्री गर्न थालेको सञ्चालक विरेन्द्र खड्काले जानकारी दिनुभयो। अव दाङका स्थानियले स्थानिय स्तरमै उत्पादन भएको स्ट्रबेरी खान पाउने भएका छन्। व्यवसायिक रुपमा गरिएको स्ट्रबेरी अहिले बारीबाटै दैनिक १०÷१५ किलोग्राम विक्री भइरहेको उहाँले बताउनुभयो । ग्राहकहरु बारीमा किन्न आउनुका साथै अर्डर पनि आउने गरेको उहाँले बताउनुभयो । अवको एकडेढ हप्तामा बजारका अलि चलेका फलफूल व्यवसायीहरुसँग समन्वय गरेर बजारमा विक्रीका लागि पठाउने तयारी समेत रहेको खड्काले बताउनुभयो । आजभोली आठ सय रुपैयाँ प्रतिकिलो स्ट्रबेरी विक्री भइरहेको खड्काले बताउनुभयो । स्ट्रबेरी दाङका मुख्य बजार घोराही, तुलसीपुर, लमही लगायत जिल्ला बाहिर नेपालगञ्ज, बुटवल पनि लैजाने योजना रहेको उहाँको भनाइ छ । यस पटक मात्रै करिब ३ हजार किलो बेच्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । कृषिमा आइएस्सीएजि अर्थात डिप्लोमा तह अध्ययन गरेका खड्कालाई आधुनिक तरिकाले कृषि पेशामा लाग्ने हो भने नेपालमै केही गर्न सकिन्छ भनेर कृषिमा सम्भावना देखेरै कृषि पेशामा आवद्ध रहनु भएको । २०७४ साल अर्थात विगत ५ वर्षदेखि व्यवसायिक रुपमा नर्सरी सञ्चालन गर्नै आएका खड्काले यस वर्षदेखि स्ट्रबेरीको खेती गरेका हुन् । उनले भारतबाट प्रति विरुवा ५० रुपैयाँका दरले १० हजार विरुवा ५ लाखको लागतमा विरुवा ल्याएर करिब आठ लाखको लागतमा यो खेती गर्नु भएको छ ।

Open photo

यता कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले स्ट्रबेरी खेतीका लागि दाङको हावा पानी माटो सबै राम्रो रहेको बताउनुभयो । ‘स्ट्रबेरी धेरै चिसो ठाउँमा हुने मध्येको फलफूलको विरुवा हो,’ उहाँले भन्नुभयो–‘तर दाङमा पनि आजभोलीको समय ठिकै हुन्छ ।’ स्याउ, सुन्तला जस्तो धेरै दिन राख्न नमिल्ने फलफूल भएकाले भने बजारीकरणमा राम्रोसँग पहल गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । विक्रीका लागि समस्या हुन्छ कि भन्दै उहाँले बजारका व्यवसायीहरुसँग समन्वय गर्न पनि आग्रह गर्नुभयो । स्ट्रबेरीले स्वास्थ्यलाई फाइदा गरेपनि किनेर खाने बानी स्थानियहरुको नरहेको उहाँको भनाइ छ । जिल्लामा पहिलोपटक स्ट्रबेरीको खेती गरिएको हुनाले विक्रीमा केही समस्या आउँछ कि भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो ।