हेर्ने खबर/काठमान्डौ दुनियाँमा ‘दृश्यका देवता’ अथवा ‘गड अफ साइट’ भनेर चिनिएका डा. सन्दुक रुइतको जीवनी कक्षा १० को परिमार्जित नयाँ पाठ्यक्रमबाट हटाईएको छ। ‘सन्दुक रुइत’को जीवनी कक्षा १० को पुनारो अनिवार्य नेपाली पाठ्यपुस्तकको पेज नम्बर १५ मा राखिएको थियो।
यसरी नयाँ पाठ्यक्रम २०७९ मा रुइतको जीवनी हटाएपछि तिब्र आलोचना बढेको छ। दृश्यका देवता भनेर परिचित नेत्र चिकित्सक डा. सन्दुक रुइतको जीवनीले नेपालमै बसेर पनि विश्वले गर्व गर्ने काम गर्न सकिन्छ भनेर दिएको उदाहरण विद्यार्थीहरुका लागि प्रेरणादायी शिक्षा थियो। विद्यालय स्तरको पढाई छोडेरै विदेश पलायन हुने नेपाली युवाहरुको लहर चलेको अहिलेको अवस्थामा उनको जीवनीले आफ्नो मातृभूमि प्रति प्रेम गर्न सिकाउने सन्दुकको जीवनी हटाउन नहुने भन्दै तिब्र असन्तुष्टि उत्पन्न भएको छ।
डा. रुइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणा दायी जीवनी हो। पुस्तकमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक जीवन वर्णन गरिएको थियो।
डा. रुइतले आँखामा हुने मोतिबिन्दुको उपचारका लागि शल्यक्रियामा आधुनिक प्रविधिको प्रयोग प्रणालीको बिकाश गरे, उक्त प्रणाली नेपालमा मात्रै होइन यसलाई संसारले एउटा अग्रगामी प्रणाली मानेको छ। जसलाई एशिया, अफ्रिका, दक्षिण अमेरिकामा नेपाली प्रविधि भनेर चिनिने गरेको छ।
यस्ता प्रतिभाशाली नेपाली नागरिक, राष्ट्रका गहनाको प्रेरणादायी जीवनी हटाईनु निकै दुखद बिषय हो। बिदेशी प्रतिभाहरुको जीवनीले स्थान पाउने नेपाली पाठ्यक्रमले आफ्नै प्रतिभाशाली व्यक्तिहरुको स्वाभिमानमा धावा बोलेको छ र सन्दुक रुइतको जीवनीलाई गुम्राहमा पार्ने काम भएको छ।
संछिप्त जीवानी
पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ। डा. रुइत तमोरखोलाको शिरमा रहेको, चिनियाँ सिमावर्ती गाउँमा रहेको ओलाङचुङ गोलामा हुर्किए, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ।
डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्।
परिवार र प्रारम्भिक जीवन
बुबा सोनाम, नेपाल-तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्नुहुन्थ्यो। बुबाका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते। डाक्टर् बन्ने सपना भएका उनी जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगे। त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भएँ। सन् १९६२मा चीन-भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै दार्जलिङका स्कूल बन्द भए। उनलाई बुबाले काठमाडौँ ल्याउनुभयो र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिनुभयो। सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास भए।
त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा ‘जनरल फिजिसियन’का रूपमा तीन वर्ष बिताए। फेरि भारत गए र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले। तीन वर्ष एम्समा पढेपछि १९८४ मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए। अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका-युरोप-अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो। उनले ती प्रस्तावलाई हेरेनन् र नेपालमै आए।
तिलगंगा आँखा अस्पतालका जन्मदाता
उनले एउटा आँखा अस्पतालको सपना देखेको थिए, जसलाई अस्ट्रेलियाका डा. हलोजले साथ दिए। यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएका थिए। यसरी १९९४ जुनमा जन्मियो-तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ।