२४ माघ। झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन्।

आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले बताए।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए।

उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ’। ‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ। यो स्थिति हटाउट सरकारले पहल गर्नुपर्छ।’

किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए। ‘कुखुरा पाल्ने स्थिति नै छैन। के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, उनले भने।

बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् ।