हेर्ने खबर/ओसाका, जापान

जापानको ५ दिने भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका प्रमुख मध्यका एक नेता पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक ठाउँ हिरोशिमाको संग्रहालयसहितको क्षेत्रको अवलोकन गरेका छन ।

प्रचण्डसहित भ्रमण टोलीमा रहेका गंगा दाहाल, रमेशकुमार मल्ल, सूर्य किरणसहित नियोग उपप्रमुख अम्बिका जोशी, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष भवानी भण्डारी, प्रवास समन्वय समितिका सदस्य हर्क थापा, अरुण श्रेष्ठ, डा भूपालमान श्रेष्ठ, सल्लाहकार समितिका संयोजक हवलचन्द्र लामा, गैर आवासीय नेपाली संघ आइसिसीका उपाध्यक्ष रोबिन्द श्रेष्ठ, सह कोषाध्यक्ष टंक गैरेसहितको टोलीसहितले आज संग्रहालय अवलोकन गरेका हुन् ।
दोस्रो विश्वयुद्दको क्रममा १९४५ को अगस्ट ६ तारिखका दिन अमेरिकाद्वारा खसालेको आणविक बमका कारण ध्वस्त हिरोसिमा शहरमा तत्कालिन अवस्थाको बारेमा जानकारी दिने उद्देश्यसहितको संग्रहालयको अवलोकनका क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले ध्वम्सपछिको पुनर्निर्माणलाई सही ढंगले उपयोग गर्न सकियो भने पर्यटकीय क्षेत्र बनाएर आर्थिक क्षेत्रमा टेवा
पुर्याउन सकिनेको सजिव उदाहरण हिरोशिमा आफूले पाएको बताए ।
संग्रहालयमा बम विस्फोटले पारेको मानवीय, भौतिक क्षति र त्यस पश्चात परेको असर र प्रभावलाई व्यवस्थित र बुझन सकिने ढंगले तस्विर र त्यस विस्फोटपछि बचेका सामग्रीलाई राखिएको छ ।

धेरै नागरिकको ज्यान जानेगरि भएको हिरोसिमा नरसंहारको क्षेत्रमा हाल शान्ति दीप, उत्खननका क्रममा फेला परेको डाक्टर बस्ने गरेको भवनको भग्नावशेष, ७० हजार मानिसको अस्तिपंजर, बम आक्रमणबाट क्षत विक्षत अवस्थामा रहेको भवन लगायतको बम खसालिएको ठाउको पनि पूर्व प्रधानमन्त्री प्रचण्डले अवलोकन गरेका थिए ।
अवलोकन कै क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डसँग नेपालको बारेमा अध्ययन गरिरहेका १३ वर्षीय केता वातानावे लगायत अन्य विद्यार्थीहरूले भेट गरेका थिए ।

हिरोसिमा जापानी विद्यार्थीले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट्‍न पाउँदा ज्‍यादै खुसी भएको उनीहरूले बताए । ‘नेपालबारे अध्ययन गर्दै थिएँ । पूर्वप्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा ज्यादै खुशी लाग्यो’ वातानावेले भने । उनले प्रचण्डको नाम वेब पेजमा खोजे र खुशीले उफ्रिएर आफ्नो साथी खोजेर प्रचण्डसँग फोटो खिचाउन आएका थिए ।

परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अनुमान मात्रै हो। तर हिरोशिमाका ३५०,००० जनसङ्ख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको बताइन्छ। बमको विकिरिणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए।

बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।