देवी काफ्ले हरियो लुंगी,पहेंलो पटुकी,रातो मखमली चोली,छिटको कपडाको गम्छा टाउकोमा गुथेकी मनकुमारी बोलीमिजास पनि उस्तै नरम।
पुक्क गाला हांस्दा दन्तेलहर,गालाको खाल्टो,चिम्से अांखा,थुपुक्क राखेको थुम्को जस्तो नाक ,अोहो हेर्दै भरोस लाउदी। शरीर पनि उस्तै बान्की परेको!
उनको दैनिकी भनुं भने- बिहान सखारै भालेको डांकोमा उठ्नु,गोठको काम,दैलोपोतो देखि लियर छोराछोरीको पढाईलाई समेत ध्यान दिनु पर्ने, बुढी सासुलाई दवाई खुवाउने सम्म सबै अाफै। तै पनि उनमा किन्चित थकान देखिन्न। लोग्नेको साथ छुटेको पनि तीन बर्ष भैसकेछ। घरको,छोराछोरीको र बुढी सासुको ज्यान उनैमा निर्भर छ। घरखर्च अाफै जुटाउनु पर्छ। त्यसैले अलिकति लोकल कुखुरा पनि पालेकी छन् मनकुमारीले।
बिहान केटाकेटीलाई स्कुल पठाइवरी सासुलाई पिंढीमा बसेर घर कुर्न अह्राउंदै थुन्सेमा तरुल,पिंडालु,पेरुङ्गामा दुइटा राता राता जखड भाले राखेर कम्मरमा खुर्पेटो,फुर्लुङ पनि बांधेर अोरालो लागिन्। तरुलपिंडालु र भाले बेचेर महिना पुग्ने रासन ल्याउने,फर्कंदा ठाडोखोलाको छेउछाउमा जलुका,खोलेसाग,निउरो टिपेर ल्याउनु उनको दैनिकी जस्तै हुन्छ।कहिलेकांहि खेततिर सोझ्याइएको कुलामा बाममाछा,माछा मारेर फुर्लुङ भरेर पनि लैजान्छिन त्यसका लागि ढडिया बेसी फुपुका घर राखेकी हुन्छिन्। यति धेरै मेहनत दौडधुप गर्दा पनि उनी हतास हुंदैनथिन्।
तर अाज अति हतास देखिन्छिन् मनकुमारी।बेशीबाट घरखर्च सहित जलुका पनि टिपिन्,माछा मार्दै थिईन् एक्कासी अाकासमा पश्चिमतिरबाट कालो बादल मडारियर अायो। बिजुली चम्कन थाल्यो। भयंकर अांधीतुफान अाउने संकेत थियो। मनकुमारी अात्तिंदै थुन्से कांधमा बोकिन्।फुर्लुङ्मा माछा,पेरुङ्गामा साग हालेर लुंगी सुर्काउंदै दारेगौंडाको उकालो लागिन्।बादलसंगै झरी लाग्ने निश्चितै थियो।मनकुमारीका खुट्टा जुकाले नापीसकेका थिए।टाकुरैसम्म पुग्नेगरि मोटरबाटो गएको हिउंदमा खनेको थियो।महिन्द्रा गाडि हिउंदमा त जान्छन् तर बर्षामा जादैन।त्यसैले उनी जतिसक्यो चांडो घर पुग्नु थियो। छोराछोरी साना,सासुबज्यै उठेर जर्याकजुरुक काम गर्न नसक्ने,घरको छानो खरले छाएको,बल्लतल्ल माटोको चपेराले घरको चौघेरो घेरेकी थिईन्।पोहोरसाल पनि बर्षामा पानी पर्दा भित्तो नै भत्केर छानो चुहिएर रातभरी प्लाष्टिक अोढेर रात बिताउनु परेको थियो।गाह्रो लाउन ईट्टाढुंगा किन्ने पैसा कहाँ पाउनु? त्यहि पनि एउटा रिकुटेले अलिकति पैसा सापटी दिन्छु भन्यो पछि उसले मनकुमारीको जवानी पो किन्न खोजेको रैछ।गाउंकै एउटा अगुवा राजनीति गर्छु भन्नेले सहयोग गरिदिन्छु,भत्ता मिलाईदिन्छु घर टिनले छाईदिन्छु भनेछ सोझी मनकुमारीले अाशा मानिन् त्यो पनि उस्तै स्वार्थी उसले पनि निवेदन स्वरुप मनकुमारीको जवानी माग्यो।
तर अाफ्नो बिचारमा अडिग मनकुमारीले केही रकममा अाफ्नो जवानी साटिनन् बरु उनिहरुलाई एकल महिलाको मुखमा हेर्न नसक्नेगरी जवाफ दिइन् उनी स्वाभिमानी पनि हुन्।वडाध्यक्षकै छोराले मनकुमारीलाई फसाउन कम्त कोसिस गरेन तर उनी टसको मस नभएपछि बाटो खन्दा उनकै घरछेउबाट पैरो दस्नेगरी डोजर चलाएको थियो।
पानी दर्किन थाल्यो,हुरी रुखै उडाउने जस्तो गरि हुंईकियर अायो बादल मडारियो।अब हुरी भन्दा छिटो त मनकुमारीको मन घर पुग्यो।उनका पाईला कहाछन् होसै भयन।छोराछोरीको र सासुबज्यैको मायाले उनलाई अोत बस्न दिएन।बल्लतल्ल घर पुगिन्।ढोकामा छोराछोरी र बजु उनैको बाटो हेरेर बसेका।उनलाई देखेपछि सन्तोषको सास फेरे।
बलिन्द्रधारा पानी,चट्याङ,हुरी झुप्रो घरै लैजाला जस्तो भयो। गोठमा,खोरमा हेरिन्। गाईले पनि उनैलाई हेरेर कराए। कुखुरा खोर पसिसकेका थिए।चिसा दाउरा पुत्ताउंदै बल्लतल्ल अगेनो अोभाईन्।अाज फुर्लुङमा दुइटा बाममाछा र अलिकति फयटा माछा थिए।बजुले अाज त म पकाएर खुवाउंछु थाकेकी होलिस् हाम्रा लागि कति गर्छेस् भन्दै थुनथुनाउदै चुलातिर लागिन्। किन हो किन मनकुमारीको मन अस्थिर थियो।मनमनै उनको मन बाहिरको तुफान जस्तै हुंईकेको थियो।छोराछोरीलाई काखमा लिएर बजुको मुख हेरिरहिन्।
माछाको झोल र भात पाक्दासम्म मनकुमारीले अाफुले बेहोरेका सामाजिक र घरायसी समस्या सम्झेर सकिन्।हिजै जस्तो त लाग्छ नि चुनाव भएको।चुनाव प्रचारप्रसारमा अाएका नेताले भाषण गर्दा गाउँ गाउँमा मोटर पुर्याईदिने,पानीका धारा बगाईदिने,खरको छाना फेरेर टिनका छाना लगाइदिने ,बालबालिकालाई निशुल्क शिक्षा उपलब्ध गराउने,अौषधी उपचार निशुल्क गर्ने भनेका थिए।भोट दिए चुनाव जिते। गाउंका टाठाबाठा नेताका पिछलग्गुहरुले नभन्दै बिकास गर्ने बजेट पारे। गाउंमा घरघरमा धारा त ल्याए तर पानी अाएन।बाटो खन्न डोजर,स्क्याभेटर ल्याए।बेशि देखि पाखोबारी जतासुकै घुमाउदै माथि भन्ज्याङ् पुर्याए।हिउंदमा डांडो रातै भयो।बिना योजना रुख काटिए।डोजर,स्क्याभेटर डांडामा पुगे तर बस जान सकेन।त्यहि बाटो खन्ने क्रममा अध्यक्षको छोराले मनकुमारी प्रति गिद्धे नजर लाएको थियो।

मनकुमारीको बिद्रोह पछि उसले बदला लिने योजना बुन्यो र बाटो खन्दा पहिरोको जोखिममा पारेर खनायो। उनले बिरोध नगरेकी होईनन् तर समाजले उनलाई बिकास बिरोधिको उपमा दिए। उनी बोल्दा पोथी बासेको राम्रो होईन तेरा चुरा तेरै चुल्हामा बजा भनेर तिखा बाण हाने।

लौ है अब भात खानुपर्छ -बजुको अावाजले झस्किन्। बाहिर बिसम्हार बलिन्द्रधारा पानी परिरहेको थियोे। चारैजनाले संगै खाना खाए।बजुले असनधरा पानी पर्यो पैरोले पो पुर्नी हो कि? मलाई त अचाक्ली पेट पोल्यो बुहारी भनिन्। मनकुमारी पनि त त्यहि चिन्ताले ईन्तु न चिन्तु थिईन्। बजुले भनिन्-शत्रु लागे घरैमाथि डोजर नलाईदेउ भन्दा मार्लान् जस्तो गरे बांच्न दिन्नन् क्या हो बुहारी।
पारी तिलाहारको डांडाबाट पैरो खस्यो। ठूलो अावाज अायो। अब बांच्ने उपाय नगरी हुन्न यहाँ बस्न भयन भन्ने निर्क्योल गरेर सासुबुहारी केही लुगा र केटाकेटी बोकेर माथी चौतारीको पाटीमा भिज्दै पुगे। रातभरी पानी पर्यो निदाउन सकेनन्। झिसमिसे उज्यालो भयो भाले बास्यो।मनकुमारी उठेर घर हेर्न गइन्।उनका अांखाबाट अब रातीको पानी भन्दा धेरै अश्रुधारा तुफानको वेगमा झरिरहे।न त उनको घर थियो,न कुखुराको खोर न त गाईको गोठ।अब उनको अवस्था सांच्चैको पाटीको बासको भयो।उनी ढलिन्।
अाज फेरि उनी थोरै उठेकी छन्।चुनावको बेला अायो।जब भोटका लागि भाषण बेचिन लाग्यो तब उनले मन्चमै गयर नेताको कठालो समाउदै भनिन् तिम्रा बेथितिले,जथाभावी जोतेका डोजरे बिकासले अाज म घरबारबिहिन छु यस्ता अधुरा बिकास नगराउ। बिज्ञहरुको सल्लाह सुझाव अनुसार डांडा खन्ने काम गर बाटो जति खन्छौ त्यति पिच गर ।बिज्ञ बिना वन फडानी नगर।हिजो गरेको गल्ती अब दोहोर्याउन पाईन्न।नत्र डांडाकांडा खन्ने बन मास्ने काम नगर खबरदार। तालीको गडगडाहटले सभा गुन्जायमान भयो।